लन्डन । चर्चित गायिका शर्मिला बर्देवाको नयाँ गीत “थाहा छैन के के पाए के के गुमाए” को म्युजिक भिडियो सार्वजनिक भएको छ। नाफा घाटा नसोचेर माया लगाएको र त्यसरी माया लगाउँदा गुमाएका र पाएका भावलाई गीतमा समेटिएको छ। लोकप्रिय गीतकार राजु बाबु श्रेष्ठको शब्द र हरि लम्सालको सङ्गीत रहेको उक्त गीत गायिका बर्देवाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
गायिका बर्देवाले कलाकारले आफ्नो सृजनाको मिहिनेत र प्रतिफल आफैले पाउनको लागि आफ्नै डिजिटल च्यानल बनाउनु पर्ने बताउनुहुन्छ । अन्य कम्पनीका च्यानलहरूबाट गीत सार्वजनिक गर्दा कलाकारहरूले शतप्रतिशत प्रतिफल नपाउने हुनाले आफ्नो लगानी र मिहिनेतको प्रतिफलको लागि आफ्नो सृजनाहरू आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नु पर्ने गायिका बर्देवा बताउनुहुन्छ । अहिले श्रोता दर्शकसँग कलाकारहरूको सम्बन्ध गाँस्न प्रविधि डिजीटलाईज भएको अवस्थामा श्रोताहरूसँग सिधा सम्पर्कको लागि कुनै तेस्रो पक्षबाट भन्दा आफ्नै च्यानलबाट गीत रिलिज गर्नु पर्छ र यदि तेस्रो माध्यमबाट गीत सार्वजनिक गर्नु परे राम्रो डिलमा कानुनी रूपमा सम्झौता गर्नुपर्ने गायिका बर्देवा बताउन हुन्छ । त्यसरी आफ्नो सिर्जनाहरू सार्वजनिक गर्दा आफ्नो सिर्जनाको हक अधिकार कलाकारसँगै सुरक्षित हुने गायिका बर्देवा बताउनुहुन्छ ।
हाल लन्डन बस्दै आउनु भएकी गायिका शर्मिला बर्देवाले आधुनिक गीत र नेपाली फिल्ममा गरी ८५० वटा गीत रेकर्ड गरिसक्नु भएको छ। गायिका बर्देवाको चर्चित गीतहरूमा आगो लाग्यो दिलैमा, आँखैमा झल्झली, तस्बिरमा यस्तो, म सँग तिमी, सुनको बिहानी, फुलको जवाफ पत्थरले दिनेलाई, सर सर अलि वर, निल काँडा झैँ मन फुल्यो लगायत रहेका छन् ।
मोडेलहरू विशाल ढकाल र नायिका महिमा सिलवालको अभिनयको गीतको रो प्रोडक्सन युकेले निर्माण गरेको हो । चितवनको लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रिटको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको उक्त गीतको सिनेमाटोग्राफी फोस्टास टालाका गरेका छन् भने निर्देशन र सम्पादन रो प्रोडस्क्सन युकेका दीपेश रेग्मीले गरेका हुन् । बेलायतमा सिनेमाटोग्राफी र निर्देशन सम्बन्धी अध्ययन गरेका रेग्मीले निर्देशन गरेका म्युजिक भिडियो र डकुमेन्ट्रीहरू चर्चामा रहने गरेका छन् ।