काठमाडौँ । कथा इभेन्टको आयोजनामा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौँ २०१९ को अडिसन गत शुक्रवार इन्द्रेणी फुडल्यान्ड, महाराजगन्जमा सम्पन्न भएको छ ।
अडिसनमा निर्णायकको रूपमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्यले गर्नुभएको थियो ।
कुल ९२ जनाले अडिसनमा भाग लिएकोमा जम्मा ५० जनालाई मात्र छनौट गरिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीहरूलाई यही मङ्गलवारदेखि १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुति करण, व्यक्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटो सेसन लगायतका कृयाकलापहरु रहनेछन् ।
मिस हिमालय लिटल एन्जल काठमाडौँको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । प्रतियोगितामा उमेर समूह ६-८, ९-१०, ११-१३ गरेर तीन समूहमा विभाजन गरेर समूह विजेताहरू र १ जना मुख्य विजेताको रूपमा घोषणा गरिनेछ ।
विगतमा कर्पोरेट नाइट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौँ २०१९ पहिलो संस्करण हो ।