काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बहुचर्चित गायिका मिलन नेवारको चौँथो एलबम ‘मिलन यात्रा’ र पाँचौँ एलबममा समावेश ‘मन रेसम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।
माननीय गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, सङ्गीतकार शक्ति बल्लभ, गायिका मिलनका माता-पिता लगायत अन्य अतिथिहरूको हातबाट लोकार्पण गरिएको उक्त एलबममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल सङ्गीत रहेको छ ।
सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनीहरूले नै गरेका छन् । हरि हुमागाईको छायाङ्कन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।
सोही कार्यक्रम मार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उद्देश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गीतिक प्रस्तुति र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उद्देश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘सहिद स्मृति आवासीय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।
गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत-सङ्गीत पौरखी भएको बताएका थिए । उनले नेपाली सङ्गीतको क्षेत्रमा मिलनले महत्त्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतिको क्षेत्रमा प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए । कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांस्कृतिक सभ्यतालाई अर्को उचाइमा पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट नीति नियम तर्जुमा गर्न लागिएको उनले बताए ।