अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 18:44

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:३६ मा प्रकाशित

धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया जाने नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो । कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ । सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ । मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन् ।

सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए । कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो । अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ रहेको थियो ।

खरेलका अनुसार क्षयरोग, कलेजोको खराबी, डेङ्गु, मष्तिष्काघात, एपेण्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ । रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागी जलेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

मलेसियामा पछिल्लो तथ्याङ्कअनुसार तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या एक लाख हाराहारी रहेको अनुमान गरिएको खरेलको भनाई छ ।

पछिल्लो समयमा श्रमसम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली कामदार मलेसिया आउन पाएका छैनन् । जसका कारण मलेसियामा रहने कामदारको सङ्ख्या घटेको हो । यसअघि सात लाख हाराहारी नेपाली मलेसियामा रहेको तथ्याङ्क थियो । कार्यवाहक राजदूत खरेल नेपाली कामदारमा आवश्यक सीप, क्षमतासँगै यहाँको वस्तुस्थितिका बारेमा ज्ञान नहुँदा विभिन्न कारणले मृत्यु हुने गरेको बताए । उनले मलेसियामा रहेका र आउन चाहने कामदारले यहाँको वस्तुस्थिति, कानून, भाषालगायतका विषयमा राम्रो ज्ञान लिनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार दैनिक २०० हाराहारी कामदारले लिखित र मौखिक गुनासा राजदूतावासमा गर्ने गरेका छन् । अधिकांशले मौखिकरूपमा आफ्ना समस्या राख्ने गरेको खरेलको भनाई छ । अधिकांशले तोकिएको तलब नपाएको, आउँदा तोकिएभन्दा फरक काम गर्नुपरेको, नेपाल फर्किन चाहेकोजस्ता गुनासो गर्ने गरेका छन् ।

नेपालबाट वास्तविकता नबुझी आउने कामदारले यहाँ आएपछि सोचेजस्तो नहुँदा नेपाल फर्किन चाहने गर्दछन् । नेपाल फर्किन नपाए आत्महत्यासमेत गर्ने गरेको पाइएको छ । दूतावासका जनसम्पर्क अधिकृत रवि भट्टका अनुसार कामदारको मृत्युपछि शव पठाउनसमेत समस्या हुने गरेको छ । अवैधानिकरूपमा बसेकाको मृत्यु भएमा उनीहरूको परिवारलाई सम्पर्क गरी शव पठाउने गरिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकालाई दूतावासले समेत खर्च गरेर पठाउने गरेको खर्लले बताउनुभयो । वैधानिकरूपमा काम गरिरहेकाको हकमा कम्पनीले शव पठाउन खर्च गर्ने गरेको छ ।

प्रतिक्रिया