अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 01:46

दलजित सुदान फेसन रनवे २०१८ हुने

कुबेर गिरी, काठमाडौँ २०७५ वैशाख ३१ गते ९:३९ मा प्रकाशित

नेपालकै टप तथा व्यवसायी उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्का लगायत २४ मोडल एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी ११ जेठमा (अर्थात् २५ मे) मा सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा आयोजना हुने ‘दलजित सुदान फेसन रनवे २०१८’मा यी मोडल एकसाथ र्याम्पमा उत्रिन लागेका हुन् । 

नेपालमै पहिलो पटक १९२ फिट लामो युसेफ र्याम्प स्टेज सहित आयोजना हुन लागेको फेसन सो अहिले सम्मकै उत्कृष्ट सो हुने आयोजकले बताएको छ । सोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेको विभिन्न अन्तर्राष्ट्रिय स्तरका पहिरनहरू प्रस्तुत हुनेछन् । नेक्स्ट मोडल नेपालको ब्याबस्थापन तथा संयोजनामा सोको आयोजना हुन लागेको हो ।

नेक्स्ट मोडल नेपालले सोमबार पत्रकार भेटघाट कार्यक्रम गर्दै सोको विभिन्न पक्षबारे जानकारी दिएको हो । सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा यो सोपछि नेपालको फेसन उद्योगले बेग्लै छलाङ मार्ने नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले बताए । ‘सोले नयाँ पिडिलाई समेत फेसन प्रति आकर्षित गर्छ’ रविले भने ‘मोडललाई समेत स्थापित हुन उत्प्रेरण दिनेकाम गर्छ ।’ फेसन सो नेपालमा आयोजना भएका अहिलेसम्मकै भन्दा फरक तथा उत्कृष्ट बनाउने कोसिस आफ्नो रहेको उनले सुनाए ।

१६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरी तीन सिक्वेसमा डिजाइनर सुदानले तयार पारेका आकर्षक फेसनहरू प्रदर्शन गर्नेछन् । र्याम्पमा देखिने सबै मोडल उत्कृष्ट मोडल हुने भएकोले सो टपर पनि सबै मोडल भएको आयोजकको भनाई रहेको छ ।

थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरू प्रस्तुत गरिसकेकी सुदानको यो पहिलो एकल सो हो । फेसन सोका लागि आफू निकै एक्साइटेट रहेको डिजाइनर सुदानले बताइन् । ‘अहिलेसम्म र्याम्पमा प्रस्तुत नभएका र नेचुरल डिजाइनले सोमा प्राथमिकता पाउनेछन् ’ उनले भनिन् ।

मिस नेपालकी कोरियोग्राफर रचना गुरुङले दलजित सुदानका डिजाइनसँग आफू राम्रोसँग परिचित भएको बताउँदै सो फेसन पारखीहरुका लागि सरप्राइज हुने बताइन् । उनले सोमा प्रस्तुत हुने पहिरन अहिलेसम्मकै फरक हुने दाबी गर्दै सबैले लाभ उठाउनु पर्ने धारण राखिन् ।

पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले दलजित सुदानका पहिरन आफूले केही पहिले देखी फलो गर्दै आएको बताइन् । ‘ म पनि फेसन सोको हिस्सा बन्न पाएकोमा निकै खुसी छु ’नग्माले भनिन् ‘यस्ता खालका सो सायदै विरलै हुन्छ ।’ सोले नेपाली फेसन जगतमा एउटा कायापलट ल्याउने उनको भनाई रहेको थियो ।

साँझ ६ बजेबाट सुरु हुने सो तीन घण्टासम्म चल्नेछ । सोले नेपाल पनि फेसनको मावलमा अगाडी छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

दलजित सुदानको बारेमा
दलजित सुदान नेपालका सुप्रसिद्ध फेसन डिजाइनर हुन् । उनी आफ्नो उदार विचार र शैलीका लागि परिचित छिन् । उनको अति सुन्दर र अलौकिक डिजाइनहरू उनको उदार विचार र शैलीको प्रतिबिम्ब हो । नेपालको अतिरिक्त उनका प्रदर्शनीहरू भारत र बङ्लादेशमा पनि भएका छन् । उनी विगत आठ वर्ष देख नेपाली फेसन उद्योगमा छिन् । उनले आफ्नो शिल्प श्रृजनालाई ‘टीजीआईएफ नेपाल फेसन सप्ताह’ लगायत धेरै मंचहरुमा देखाइसकेकी छिन् ।

सम्बन्धित सामग्रीहरू