काठमाडौँ, २४ मङ्सिर । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबिच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन् ।
राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहेका राजदूत पुरीले अन्तर्वार्ताका क्रममा भने, ‘त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानासँग सम्बन्धित थिएन । जुन सिमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।’
समाधानका उपाय बारे उनको भनाई थियो, ‘हाम्रो युगौँदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सिमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ । हामीहरू छलफल पनि गरिरहेका छौ ।’
उनले सीमा जस्तो विषयमा निकै महत्त्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अवसर दिनु नहुने बताए । नेपालको वर्तमान अवस्थाबारे उनले भने, ‘नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभूत गरिरहेको छ । नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठिक ढङ्गले अगाडि बढाएको छ ।’ गोरखापत्र दैनिकले खबर छापेको छ ।