कोठामा छु म, छ एउटा झ्याल
र त्यसमा टाँगिएको छ रेशमी रंगीन पर्दा ।
झ्यालमा झुण्डिएको त्यो पर्दा
अहिले वसन्तको बताससँग जिस्किँदैछे
र इत्तरिँदै छे मसँग पनि
सोध्छे, “खोइ तेरी प्रेयसी ?”
त्यति नै खेर संसारको सारा प्रदेश चहारेर आएको हावा
वेगले ठोक्किन्छ पर्दासँग,
पर्दा ह्वात्त माथि पुग्छे, दलिन छुन्छे
र, छिर्न दिन्छे हावालाई उसले चाहेको कुनामा ठोक्किन,
अनि बिस्तारै झर्छे र छुन्छे झ्यालको चौकोसलाई ।
काउकुती लागेर चौकोस एकै डल्लो पर्छ,
पर्दा चालै पाउँदिन ।
कोठाभित्र एक छिन बरालिएर
जब हावा फर्किन्छ झ्यालतिर— पर्दा बाटो दिन जान्दिन,
र डण्डीमा टाँस्सिन्छे स्याप्प
मानौँ निथ्रुक्क भिजेकी सुन्दरीको वस्त्र हो पर्दा ।
कहिले आवाज निकाल्छे फटफट
कहिले लाजले बेरिन्छे आफैँमाथि,
कहिले जिम्न्यास्टिक गरेझैँ फुत्फुत् माथितल गर्छे ।
त्यही मौका हावाको झोँक्का भने फुत्किन्छ
र बतासिन्छ अञ्जान प्रदेश ।
खेल जारी रहला पवन र पर्दाको
तर, मौका छोपेर म पर्दालाई सोध्छु, “खोइ तेरो हावा ?”