नेपालको जलविद्युतको क्षेत्रमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी सम्झौता भएको छ। रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब वैदेशिक लगानीको सम्झौता भएको हो। कोरियाली लगानीमा रहेको नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवर्द्धक रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले लगानी गर्ने सम्झौता गरेका छन्।
आयोजनामा विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसियाली विकास बैंकले ६ करोड, एसियाली पूर्वाधार विकास बैंकले ३ करोड ९६ लाख, कोरियाली एक्जिम बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख अमेरिकी डलर लगानी गर्ने भएका छन्।
त्यस्तै आयोजनामा हालै मात्र वर्ल्डलिंकमा लगानी गरेको बेलायतको सिडिसी ग्रुपले २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलप फाइनान्सियल इन्स्टिच्युटले १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्डले १ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएका छन्।
७० अर्ब बढी लागतमा बन्ने आयोजनामा ७० प्रतिशत वैदेशिक ऋण हुने छ। यो हालसम्मकै ठूलो वैदेशिक लगानी सम्झौता हो। अरुण तेस्रोको अनुमानित लागत धेरै भए पनि वित्तीय व्यवस्थापन सम्झौता भएको छैन।