बोस्टनमा सिर्जना उत्सवको कार्यक्रममा आउनु भएका उमेश कोइरालाले कुरै कुरामा भन्नु भयो – एक पटक न्यूह्याम्पसायरमा पनि “सिर्जना उत्सव” गरौँ न ! ” वास्तवमा हामी पनि त्यही अवसरको खोजीमा थियौ – बोस्टनको साहित्यिक गतिविधिलाई बोस्टनको वरिपरि फैल्याउने |
समय र मिति मिलाएर हामी न्यूह्याम्पसायरतिर लाग्यौ | संयोग भानु जयन्ती परेको थियो | समूहमा थिए – महेश्वर पन्त, दीपा राई पुन , हरि थापा, ममता कर्माचार्य ,पेशल रेग्मी, ज्ञान प्रकाश शर्मा , गौरव थपलिया, आइबी अयर आदि |
हुक्सेटको चिटिक्क परेको हलमा खचाखच उपस्थिति , अनि हाम्रो पर्खाइमा रहेमा साहित्यिक मनहरू ! संयुक्त ब्यानर टाँगियो | मञ्चमा बसियो , संयोग त्यस्तै पर्यो , एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने | समाजसेवी सोम गुरुङले आफ्नो अनुभव प्रस्तुत गर्दै मीठो ढङ्गले कार्यक्रम सञ्चालन गर्नुभयो | कार्यक्रममा थोरै मन्तव्य र धेरै कविता सुन्न पाइयो | सबै दर्शक कविताका भोका देखिन्थे | यस्तो लाग्थ्यो यो स्थानमा एउटा नियमित साहित्यिक शृङ्खला होस् र यी भोका मनहरूले साहित्यिक रसास्वादन गर्न पाउन् | नभन्दै कार्यक्रमको समापनतिर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , न्यूह्याम्पसायर शाखा गठन गर्ने घोषणा गरियो |
साहित्यकार अग्नि पराजुलीको अध्यक्षतामा सुरेन्द्र देव आचार्य उपाध्यक्षसहित ईश्वरी भट्टलगायतको सानो समिति बन्यो | एउटा ठुलो कार्यमा सहभागी भएको महसुस गरी सिर्जना उत्सवको टोली बोस्टन फर्कियो । केही महिनापछि लक्ष्मीजयन्ति मनाउने निम्तो आयो । महेश्वर पन्त, दीपा राई पुन, ममता कर्माचार्य, अनु शाहसहितको हाम्रो टोली पुनः गयो, न्यूह्याम्पसायर | अन्य कार्यक्रम र वार्षिकोत्सवमा पनि हामीले निम्तो पाइरह्यौ, हाम्रो सहभागिता रहदै आयो ।
पछि, म अनेसासको केन्द्रीय महासचिव भएपछि केन्द्रको भानु जयन्ती न्यूह्याम्पसायरमै मनाउने प्रस्ताव पनि मैले राखेँ | साथीहरूले सहर्ष स्वीकार गर्नुभयो | बिच-बीचमा भएका कार्यक्रममा पनि मेरो उपस्थिति निरन्तर रहन थाल्यो | बोस्टनबाट डेड-दुई घण्टाको गुड़ाईमा पुगिने न्यूह्याम्पसायरको प्रत्येक कार्यक्रममा सहभागिता जनाउँदै आएँ, कहिले पनि यताको कार्यक्रममा अनुपस्थित भइन । बरु कहिले काहीँ बोस्टनको कार्यक्रम छुट्ने गर्यो ।
यसरी अनेसास न्यूह्याम्पसायरसंग यति निकट सम्बन्ध रहन गयो कि म बोस्टनमा बसे पनि अनेसास न्यूह्याम्पसायरको सदस्यजस्तो लाग्न थाल्यो |मेरो महासचिवको दोस्रो कार्यकालमा अनेसास दोस्रो च्याप्टर सम्मेलन पनि न्युह्याम्प्श्यारमै गर्ने प्रस्ताव भयो र भव्यताका साथ सम्पन्न पनि भयो । यसरी स्थापनाको छोटो समयमै पनि न्यूह्याम्पसायरले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सक्ने दक्षता हासिल गर्यो ।
अहिले यतिखेर विश्वका विभिन्न मुलुकमा रहेका अनेसासका च्याप्टर माझ न्यूह्याम्पसायर च्याप्टर बलियो र सक्रिय च्याप्टरका रूपमा रहेको छ | अग्नि पराजुलीको दुई कर्यक्राल अध्यक्षतापछि कृष्ण गिरीले आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेका छन् र यो जिम्मेवारी हरि माया खतिवडामा आइपुगेको छ | साहित्य र सङ्गीतमा उत्तिकै लगाव राख्ने खतिवडाको नेतृत्वमा अझ अगाडि बढ्ने आशा गर्ने सकिन्छ ।
साहित्यलाई मुटुमै लिएर हिँड्ने ईश्वरी भट्ट, रामचन्द्र भट्ट, उमेश कोइराला, अनि साहित्यलाई माया गर्ने सोम गुरुङ, विष्णु राई, हरि कुमारी गुरुङ, टीका आचार्य लगायतका कारण न्यूह्याम्पसायर च्याप्टरले भाषा साहित्यका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको छ र गर्ने सम्भावना देखाएको छ ।
शनिवार न्यूह्याम्पसायर च्याप्टरले छैटौँ वार्षिकोत्सव मनायो । अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हरि माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण पनि गरिएको छ । अध्यक्ष अधिकारीको समूहमा रमा न्यौपाने (उपाध्यक्ष), हरि कुमारी गुरुङ (महासचिव), रवि पाठक (सचिव), दिन बन्धु प्रेमी (कोषाध्यक्ष) र राधा थापा ( सह कोषाध्यक्ष ) रहेका छन् | यसै गरी सदस्यहरूमा निगम रिमाल, पुष्पा दाहाल ओझा , घन श्याम शर्मा दाहाल, राकेश राई र राम श्रेष्ठ रहेका छन् |
स्थापना कालदेखि नै आफू संलग्न च्याप्टरले छैटौँ वार्षिकोत्सव मनाइ रहँदा मेरो मन प्रफुल्लित हुनु स्वाभाविकै हो | लाग्छ “सिर्जना उत्सव”देखि सुरु भएको अनेसास न्यूह्याम्पसायर च्याप्टरको बीजारोपण सही मिति, तिथि र साइतमा गरिएको थियो | यसको सफलतासँगै मेरो मनमा एउटा खुसी फुल्ने गर्दछ -अनेसास न्यूह्याम्पसायरले मलाई बढी माया गर्छ कि मैले ?