डिसी । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहलाई शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त भएको छ । टेक्सस राज्यको ड्यालसमा विगत ५ वर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो ।
बुटवल सहर उप नगरपालिका कै रैथाने सिंहले प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा गर्व लागेको बताए ।
गत अगस्त २४ का दिन अमेरिकाको मेरिल्यान्ड राज्यको लरेल सहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त भएको हो। ट्रु नोविस ए मेन्स फिजिक्स श्रेणीमा उनले प्रथम स्थान हासिल गरेका हुन् ।
अमेरिकामा हाल सम्म सम्म भएको शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त गर्ने उत्सव सिंह सम्भवतः पहिलो नेपाली हुन् । उक्त प्रतियोगितामा भाग लिने एक मात्र नेपाली हुन् । टेक्सस ड्यालस मै दैनिक अभ्यास गर्ने गरेता पनि प्रतियोगिताको लागि उनी डिसी आएका हुन् ।
दैनिक ६ घण्टा बिहान ३ घण्टा र साँझ ३ घण्टा कसरत गर्ने गरेको सिंहले बताए । नेपाल देखि नै शारीरिक सुगठन प्रतियोगितामा भाग लिँदै आएका सिंहले नेपालमा भएका विभिन्न प्रतियोगितामा पदक प्राप्त गरेका छन् ।
उनी नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेस्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।
भक्तपुरमा भएको अर्को प्रतिस्प्रद्धामा मिस्टर बडी बिल्डिङ अफ द यिएरमा दोस्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेस्रो स्थान समेत भएका थिए ।
यसै गरी बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए ।