अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 05:14

आप्रवासी कविका राष्ट्रवादी कविता – प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७६ साउन १५ गते ९:४५ मा प्रकाशित

२०१० साल माघ ४ गते पश्चिम नेपालअन्तर्गत पर्वत जिल्लाको चित्रे भन्ने ठाउँमा जन्मिएका सुमलकुमार गुरुङको शिक्षादीक्षा भारतको असम र सिलोङमा भएको हो । यिनले भारतीय सेनामा लामो समयसम्म जागिर खाई सेवा निवृत्त भएपछि नेपालमा पनि केही वर्ष जागिर खाएको देखिन्छ । नेपालबाट हङ्कङमा गएर केही समय बसोबास गरेपछि त्यहाँबाट बेलायततिर प्रवासिएका गुरुङ हाल लन्डनमा बसोबास गर्छन् ।

सुमलकुमार गुरुङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युरोप क्षेत्रको केन्द्रीय उपाध्यक्ष, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको आजीवन सदस्यलगायत अन्य थुप्रै साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूमा संलग्न रही क्रियाशील जीवन बिताइरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरको अध्यक्ष पदमा कार्यरत गुरुङ हालसालै हुनगइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको छैटौँ सम्मेलनको संयोजक रहेका छन् । हङ्कङमा रहँदा त्यहाँका विभिन्न सङ्घसंस्थासँग प्रत्यक्ष संलग्न रहेका गुरुङ बेलायतमा गएपछि पनि त्यहाँका विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूको संस्थापक, सल्लाहकार आदि विभिन्न पदमा संलग्न छन् । यिनले आनो जन्मभूमिमा पनि विभिन्न सामाजिक, शैक्षिक गतिविधिमा सहयोग गरेको देखिन्छ ।

विद्यालयमा पढ्दादेखि नै साहित्य सिर्जनातर्फ अग्रसर भएका र विशेष गरी सन् १९९० को दशकदेखि सक्रिय लेखनमा लागेका सुमलकुमार गुरुङले नेपाली साहित्यका निबन्ध, कथा, कविता आदि विधामा कलम चलाएका छन् । यिनका हालसम्म युरोप यात्राका अनुभूतिहरू (नियात्रा, २०६८), मेजर अर्जुनको औँठी (कथा, २०६९), अतीतको आँखीझ्यालभित्र नियाल्दा (संस्मरण, २०७१), फेरि हङकङको सेरोफेरो (२०७३) जस्ता पुस्तककार कृतिहरू प्रकाशित भइसकेका छन् । यी पुस्तककार कृतिबाहेक यिनका विभिन्न लेखरचनाहरू विभिन्न पत्रपत्रिका र वेबसाइटहरूमा पनि प्रकाशित छन् ।

सुमलकुमार गुरुङले विद्यालय जीवनदेखि नै वादविवाद, हाजिरी जबाफ, दौड आदि अतिरिक्त क्रियाकलापका साथै कविता प्रतियोगिता र निबन्ध प्रतियोगितामा भाग लिई उत्कृष्टता हासिल गरेको देखिन्छ । पछिल्लो समयमा साहित्य सिर्जनातर्पm बढी केन्द्रित रहेका गुरुङ अनेसास धवलागिरी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, नेपाली साहित्य विकास परिषद् उत्कृष्ट साहित्य पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत एवं सम्मानित भएका छन् ।

वर्तमान दशक नेपाली कविताका लागि स्वदेश र विदेश दुवैतिर उर्वर समय रहेको देखिन्छ । लाहुरेहरूले पनि प्रशस्तै कविता सिर्जना गरिरहेका छन् । यसको उदाहरणका रूपमा सुमलकुमार गुरुङलाई नै लिन सकिन्छ ।

सुमलकुमार गुरुङको खोज्दै छु नेपाल शीर्षक कविता सङ्ग्रह पुस्तककार कृतिका दृष्टिले पाँचौँ र कविता सङ्ग्रहका दृष्टिले पहिलो हो । ‘भानु तिमीले गीत सुनायौ’ कविताबाट सुरु गरी ‘झर्दै छन् पातहरू’ शीर्षक रचनामा टुङ्गाइएको खोज्दै छु नेपाल शीर्षक कविता सङ्ग्रहमा लामा छोटा आयामका बत्तीसवटा प्रगीतात्मक संरचनायुक्त कविता सङ्गृहीत छन् । यसमा सङ्गृहीत धेरैजसो कविता गद्यकविताका ढाँचामा संरचित छन् भने केही कविता छन्द ढाँचामा तुकबन्दीयुक्त ढङ्गले संरचित छन् । यसमा सङ्कलित कविताहरूमध्ये कतिपय यस पूर्व नै विभिन्न पत्रपत्रिकामा प्रकाशित वा विभिन्न साहित्यिक कार्यक्रममा वाचित भएको कुरा कविताको अन्त्यमा सङ्केत गरिएको छ भने केही पनि सङ्केत नगरिएका कविता भने सर्वप्रथम यसै कृतिमा समावेश गरिएका हुन् ।

सुमलकुमार गुरुङको यस सङ्ग्रहमा सङ्कलित धेरैजसो कवितामा मातृभूमिप्रेम, जन्मभूमिप्रेम, देशप्रेम, प्रकृतिप्रेम आदिको अभिव्यक्ति पाइन्छ भने कतिपय कवितामा आप्रवासी चेतनाको अभिव्यक्ति, कतिपय कवितामा राजनैतिक, सामाजिक आदि क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार तथा कतिपय कवितामा मानवीय प्रेमप्रणयको प्रस्तुति पाइन्छ ।

कवि सुमलकुमार गुरुङले आफ्ना कवितामा आप्रवासी चेतनाको अभिव्यक्ति यसरी गरेका छन्:
(१)
यो पहरा जस्तो
गर्विलो छाती बोक्दै
फुल फुलेको देख्ने रहर बोक्दै
आफैभित्र आफै दुखाउँदै
विदेशभरि नेपाल खोज्दै छु ।
(‘खोज्दै छु नेपाल’) ।

(२)
म प्रवासमा छु आमा !
शान्तिको मृगतृष्णा बोकेर
हिँड्दछु आमा
धेरै टाढा टाढा
मेरो मनभित्रको नेपालमा
भोको पेट,
नाङ्गा शरीरका सन्तान
अट्टहास गरे झै लाग्छ
प्राप्त लोकतन्त्रको उपहास
औँला उठाउँदै
गिज्याए झै लाग्छ
हिजो पनि त्यही थियो
आज पनि त्यही छ
वmेही फरक छैन
………………..
(‘आमा यो के भयो र ?’) ।

कवि सुमलकुमार गुरुङका कतिपय कवितामा जन्मभूमिप्रेमका साथै आप्रवासी चेतनाको अभिव्यक्ति पनि पाइन्छ, जस्तै—
त्यो खुसीको खोज अझ जारी छ
प्रवासमै खुसी रोप्ने
फलाउने प्रयास जारी छ
तर,
मेरो आस्था र अस्तित्व,
मेरो संस्कार उदाउने खुसी
त्यही घरभित्र
आज बन्द भए झै लाग्यो मलाई ।

पितृहरूको आशीर्वादले
मलाई बोलाए झै लाग्यो
मेरो भावनामा जीवित त्यो घर
खुसी बाँड्ने थलो,
एक अँजुली खुसी बाँड्न
मलाई बोलाए झै लाग्यो ।
(‘मलाई बोलाएझैँ लाग्यो’) ।

युगीन नेपाली राजनैतिक सन्दर्भको यथार्थ मिश्रित व्यङ्ग्यात्मक चित्रण कवि सुमलकुमार गुरुङको ‘समय खित्का छाडेर हाँसेकी छन्’ कवितामा गरिएको छ । युगीन राजनैतिक विकृतिको यथार्थ मूलक चित्रणका माध्यमबाट कवि गुरुङले देशप्रेमको भावना यसरी प्रस्तुत गरेका छन् ः
(१)

सपना बोकी हिँडेको सहिद
विलीन भयो बिहानको तारा झै
गणतन्त्रको बिहानसँगै
जन्मियो दुई पटक ६०१ भाग्य कोर्नेहरू
स्वार्थभित्रको तलाउमा विश्वास खोज्नेहरू
सहिदपत्नीको वियोग कुल्चेर ।

प्रत्येक रात सराप्छे ऊ
जसले प्राणप्यारालाई सहिद बनाए
तब उसको मनको भागीरथी
दुई नयन गंगोत्री बन्दै
बग्छिन् अभिशाप बनेर
प्रत्येक बिहान भिजेको सिरानी बन्दै
अनि
औँल्याउँछे सतीले सरापेको देशलाई ।
(‘उसको मनको भागिरथी’) ।

(२)
आफ्नै घरमा आगो लगाई
जाडो छल्ने दाउ,
विवेकहीन भएपछि
कहाँ पाउँछौ ठाउँ ?
यत्रतत्र मनपरी तन्त्र
के यही नै हो लोकतन्त्र ?

कहाँ छ लगाम त्यो कानुनको ?
प्रशासन जङ्गली घोडा भएको छ,
मनपरी दौडँदै छ
कहिले वाइसीएल
कहिले युथ फोर्स
र कहिले तरुण बन्दै
पूर्व मेची र पश्चिम महाकाली
आज उज्यालैमा नै लुटिएको छ,
खोइ इज्जत प्रशासनको ?

मूक प्रशासन उल्लु बन्दै
आआफ्नो स्वार्थमा
हराएको बेला,
छ सय एकजनाको कोलाहलमा
संविधान सभा हराएको छ ।
(‘संविधान सभा हराएको छ’) ।

कवि सुमलकुमार गुरुङले ‘तिमी स्वर्ग बनेर आऊ’, ‘ठट्टा नगर भन्दै छु’, ‘शान्ति चाहिएको छ’, ‘हुँदैन स्पर्श अनुभूतिका रङ्गहरू’, ‘भूगोलका धर्साहरू’ जस्ता कवितामा कतिपय पौराणिक सन्दर्भहरूसमेत जोडेर युगीन यथार्थको चित्रणका माध्यमबाट देशप्रेमको भावना प्रस्तुत गरेका छन् । यससम्बन्धी एउटा उदाहरण यस्तो छ:

खेल कुर्सीको प्रदूषणले
रोगिएकी म
बन्दैबन्दको धुवाँभित्र
हराएकी छु म
सन्तान आफै बन्दै छन्
एकअर्काको यमराज
चिन्न छाडे मलाई
निरीह हेर्दै छु तमासा ।
(‘तिमी स्वर्ग बनेर आऊ’) ।

अतीतका सन्दर्भबाट वर्तमान युगीन यथार्थप्रति व्यङ्ग्य कवि सुमलकुमार गुरुङले यसरी गरेका छन्:
भानुका अप्सराहरू
अलकापुरीका वक्षहरू टेक्दै
डान्स बार र स्टार होटेलहरू
वर्तमानका इन्द्रहरूलाई
खुसी पार्न
सबै व्यस्त छन्,

खाँचो केही बदलेको छैन ।
(‘खाँचो कहिल्यै बदलिएन’) ।
सुमलकुमार गुरुङले आफ्ना कतिपय कवितामा आफ्नो आनीबानीबारे चर्चा गर्दै जीवनप्रति व्यङ्ग्य प्रहार गरेका छन् । यससम्बन्धी उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ:
जिन्दगीको लगाम समात्दै
रेसको घोडा दौडे झै
अरूलाई नाघ्ने प्रतिस्पर्धामा
म जस्ता मानव जमातहरू
दौडिरहेको देख्दा
मलाई पनि भन्न मन लाग्यो
आफैलाई
आखिर तिमी कहाँसम्म दगुर्छौ ?
(‘अरूलाई खै के भन्ने’) ।

सुमलकुमार गुरुङको ‘आशीर्वाद वर्षा–वसन्तलाई’ वैवाहिक जीवनका सफलताको शुभकामना व्यक्त गरिएको छ भने ‘मलाई भनेकी थिई’ कवितामा मानवीय प्रेमप्रणयभाव व्यक्त गरिएको छ । यिनले आफ्नी श्रीमतीप्रतिको प्रेमका माध्यमबाट मानवीय प्रेम प्रणय भाव यसरी व्यक्त गरेका छन्:

सदा खुसी र हाँसोको वरदान
परोस् तिम्रो भागमा
म गर्छु प्रार्थना
भाग्य बनाउने हात तिम्रै हो यो
आँट बोक्ने यो मन तिम्रै हो
सदा कल्पन्छु तिम्रो सुखका लागि
तिमीलाई सुख दिएर
म दुःख पिउन सकूँ
सदा मेरो माया र आशीर्वाद
भगवान्को वरदान बनोस्
जीवनको अन्तिम अँजुली प्रेम
तिम्रै हात थामेर मर्न सकूँ ।
(‘५१ की तिमी’) ।

कवि सुमलकुमार गुरुङले आफ्ना कवितामा विद्याको महिमा गान यसरी गरेका छन्:
साथी कोही इन्जिनियर
कोही डाक्टर
कोही लेक्चरर
म कक्षा पाँच फेल
अधबैंसैमा भोगिरहेको छु
जस्तो करनी त्यस्तै भरणी
अनि अहिले सम्झदैछु
आमाले भनेको
‘पढ् बाबु पढ् विद्या’ ।
(‘पढ् बाबु पढ् विद्या’) ।

सुमलकुमार गुरुङले ‘भानु तिमीले गीत सुनायौ’ शीर्षक कवितामा भानुभक्तप्रति, ‘कर्म योद्धा सलाम छ तिमीलाई’ शीर्षक कवितामा बेलायतका नेपाली कवि स्व. ईश्वर मानन्धरप्रति तथा ‘म त पपि फुल बनेछु’ जस्ता कतिपय कवितामा सहिदप्रति सम्मान भाव व्यक्त गरेका छन् । मातृप्रेमको प्रकटीकरण यिनको ‘जननी’ शीर्षक कवितामा गरिएको छ ।

सुमलकुमार गुरुङका कतिपय कवितामा प्रकृतिको मानवीकरण र स्थानीयताको दिग्दर्शन पनि पाइन्छ । यस खालका कवितामा यिनले प्रकृति चित्रण गर्दै वातावरण जोगाउन आग्रह गरेका छन् । यससम्बन्धी उदाहरणका रूपमा ‘छहरे खोला देवता’ जस्ता कवितालाई लिन सकिन्छ । गुरुङका प्रकृतिप्रेमको अभिव्यक्ति गरिएका कवितामा पनि राष्ट्रवादी भावना मुखरित भएको पाइन्छ ।

कर्मभूमि विदेशलाई बनाएर पनि आनो राष्ट्र र जन्मभूमिप्रतिको आस्था र प्रेमको अभिव्यक्ति सुमलकुमार गुरुङको यस कविता सङ्ग्रहको उल्लेख्य वैशिष्ट्य हो । यस सङ्ग्रहको मूल शीर्षक खोज्दछु नेपालले पनि यही कुरा सङ्केत गरेको छ । यसबाहेक अन्य थुप्रै कवितामा पनि आफ्नो राष्ट्र वा स्वदेशप्रतिको प्रेम भाव छचल्किएको पाइन्छ । समग्रमा सुमलकुमार गुरुङको यस कविता सङ्ग्रहमा सङ्गृहीत कविताहरूको मूल स्वर राष्ट्रप्रेम भएको हुँदा यस कविता सङ्ग्रहलाई आप्रवासी कविको राष्ट्रवादी कविता सङ्ग्रह मान्न सकिन्छ ।

सुमलकुमार गुरुङको यस कविता सङ्ग्रहका कतिपय कवितामा व्यक्ति नामधारी सहभागीको प्रयोग भेटिए पनि ती कविताको मूलभावसँगै गाँसिएर आएका छन् । परिवेश सूचक स्थानका दृष्टिले यस कविता सङ्ग्रहका कतिपय कवितामा स्थान र समय सङ्केतित भए पनि त्यसले स्थान विशेष र समय विशेषलाई नबुझाई सर्व स्थान र सर्वकाललाई बुझाएको छ भने यसमा वातावरणको चित्रण सकारात्मक–नकारात्मक दुवै खालको छ । युगीन सामाजिक, राजनैतिक यथार्थका विविध पक्षको कतै सोझै र कतै व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यद्वारा अभिप्रेरित यस सङ्ग्रहका कतिपय कवितामा प्रथम पुरुषात्मक दृष्टिबिन्दुको प्रयोग गरेको पाइए पनि धेरैजसोमा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ । यस सङ्ग्रहमा सङ्कलित अधिकांश कवितामा कविले आफ्ना राजनीति निरपेक्ष विचारलाई अनुभूतिमय तुल्याएर प्रस्तुत गरेका छन् ।

भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा सुमलकुमार गुरुङको यस सङ्ग्रहमा सङ्गृहीत कविताहरू सरल, सहज र सुबोध खालका छन् । ‘भूगोलका धर्साहरू’ जस्ता केही कवितामा उखानको पनि प्रयोग गरिएको छ । सामाजिक र प्राकृतिक क्षेत्रका सरल बिम्बको प्रयोग यस सङ्ग्रहका कविताको विशेषता रहेको छ । यस सङ्ग्रहका कतिपय कवितालाई तुकबन्दीयुक्त भाषिक विन्यासले लयात्मक तुल्याएको छ भने गद्यकवितालाई मुक्तछन्दको स्वाभाविक प्रयोगले लयात्मक तुल्याएको छ । प्रायः मानक नेपाली भाषाको प्रयोग पाइने यस कविता सङ्ग्रहका कतिपय कवितामा भाषिक कसरमसरका अवशेषहरू पाइन्छन् । मातृ भाषी नेपाली नभएर दोस्रो भाषी नेपाली भएका स्रष्टा सुमलकुमार गुरुङले नेपाली भाषामा कविता सिर्जना गर्नु नै उल्लेख्य पक्ष भएकाले यसमा पाइने भाषिक कसरमसरलाई सामान्य रूपमै लिनु उपयुक्त हुन्छ ।

त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौँ, नेपाल