अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 17:22

उत्तर कोरियामा मृत्युदण्ड दिइएका ३ सय १८ स्थानको पहिचान

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:४२ मा प्रकाशित

दक्षिण कोरियाको एक गैरसरकारी संस्थाले उत्तर कोरियाली सरकारले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३ सय १८ वटा स्थानको पहिचान भएको जनाएको छ । ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले चार वर्षको अवधिमा ६ सय १० जना उत्तर कोरियालीहरुसँग भगौडाहरुसँग अन्तरवार्ता लिएर तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्यु दण्ड दिइएका स्थान पहिचान गरेको जनाएको हो ।

प्रतिवेदनमा गाई चोरी गरेको देखि लिएर दक्षिण कोरियाली टेलिभिजन हेरेकोसम्मको आरोपमा उत्तर कोरिया सरकारले मृत्युदण्ड दिएको उल्लेख छ । समूहले नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानमा सार्वजनिक रुपमै मानिसहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेको छ ।

‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हेर्न एक हजारभन्दा बढी सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ । मृत्युदण्ड दिइने मानिसका आफन्त तथा नाबालकलाई कतिपय घटना हेर्न बाध्य पारिएकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ ।

उत्तर कोरियाका जेल र श्रम शिविरजस्ता बन्दीगृहमा पनि मृत्युदण्ड दिने गरिएको छ । बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसलाई खानी उत्खनन् र रुख कटानीजस्ता शारीरिक श्रम गर्न बाध्य पार्ने गरिन्छ । उत्तर कोरियाली भगौडाहरुले दिएको जानकारीअनुसार अधिकांशलाई गोली हानेर मृत्युदण्ड दिने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू