पशुपतिनाथ मन्दिरको सम्पत्तिका रुपमा जम्मा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन र ३ क्विन्टल चाँदी जम्मा भएको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानवीन समितिले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा विसं. २०७५ चैत महिनासम्म सो परिमाणको सुन र चाँदी जम्मा भएको उल्लेख गरिएको छ ।
छानविन समितिका संयोजक डा. मिलनकुमार थापाका अनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी जम्मा भएको छ । जम्मा भएको सुन र चाँदीको परिणाम विसं. २०१९ देखि २०७५ सालसम्मको रहेको थापाले जानकारी दिनुभयो । विसं. २०१९ सालभन्दा अघिको विवरण प्राप्त हुन नसकेको बताईएको छ ।
मन्दिरमा भेटीका रुपमा हालसम्म जम्मा भएको रकम १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रकम मध्ये १ अर्बको अक्षय कोष स्थापना गरी सामाजिक क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको समितिको भनाइ छ ।
संयोजक थापाका अनुसार मुलुकभर गरी ३ हजार ६ सय ६७ रोपनी ४ आना तीन पैसा जग्गा मन्दिरको नाममा दर्ता प्रमाणित भएको तथा २ सय ३१ रोपनी १९ आना १ दाम दर्ता प्रमाणित हुन बाँकी रहेको छ ।