चीनका राष्ट्रपति सी चिन पिङले बुधबारदेखि रूसको राजकीय भ्रमण गर्नुहुनेभएको छ । भ्रमणका क्रममा सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका उच्च पदस्थ अधिकारीहरूसँग छलफल तथा विचार विमर्श गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उहाँले सेन्ट पिटर्सवर्ग अन्तर्रा्ष्ट्रिय आर्थिक मञ्च (एसपीआईइएफ) मा सहभागिता जनाउने पनि कार्यक्रम छ ।
भ्रमणले राष्ट्रपति सी तथा उनका रूसी समकक्षी पुटिनबीच हुने भेटवार्ताले चीन–रूसबीचको रणनीतिक साझेदारी र सहकार्यलाई बिस्तार गरी तथा नयाँ उचाइमा पुराउने विश्वास लिइएको छ । भ्रमणले दुइपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ खाका अपेक्षासमेत गरिएको छ । बितेका पाँच वर्षयता चीन र रूसका राष्ट्रनायकबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले बताएको छ । ती भेटहरूले दुई देशबीच घनिष्ठ कार्यको सम्पर्क र गहिरो व्यक्तिगत मित्रताको पनि स्थापना गरेका दुवै देशका अधिकारीको बुझाई रहेको छ ।
उनीहरूको कूटनीति चीन–रूस सम्बन्धका लागि स्थिर र परिपक्व विशेषतामध्येको एक बनिसकेको देखिन्छ। दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रूस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ । दुवै देशभित्रका विभिन्न परिवर्तनलगायतका विविध परीक्षामा सफलता मिलेको छ । चीन–रूसबीचको चौतर्फी रणनीतिक सहकार्यबाट दुई देशका जनताका साथैसमस्त विश्वको भावी विकासका लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ ।