आमा, दुई भाई र दुई दिदिबहिनी भएका, रामेछाप जिल्लामा जन्मेका, अविवाहित, सम्पतिको नाममा आफ्ना लत्ताकपडा, एक थान ल्यापटप र मोबाईल भएका, अस्पतालको क्वाटरमा बस्ने, ६१ बर्षिय डाक्टर गोबिन्द केसिलाई केही समय पहिले टेलिभिजन वार्तामा बिजयकुमारले प्रश्न गरेका थिए,
डाक्टर साब तपाईको जीवनका तीन वटा प्राथमिकता केके हुन् भनेर सोधे भने के भन्नू हुन्छ?
“मेरो जीवनको पहिलो प्राथमिकता मेरा बिरामी, दोश्रो प्राथमिकता मेरा बिध्यार्थी र मेरो जिबनको तेश्रो कुनैपनि प्राथमिकता छैन।”
यस्तो महान् बिचार बोकेका निष्ठाका पर्तिमुर्ती डाक्टर गोबिन्द केसिको अहिलेसम्मकै लामो अनशन, १० औं अनशनको २० औं दिन आज। वहाँको स्वास्थ्य अबस्था अत्यन्तै चिन्ताजनक छ। यति लामो अनसन जारी रहदा डाक्टर केसिका मागहरु प्रती सरकारले सद्भाव देखाएको नजिर खडा गरिरहेछ तर समस्याको निदान गर्न तर्फ गम्भीर देखिदैन।
नेपालको स्वास्थ्य, शिक्षा क्षेत्र वा समग्र क्षेत्र, कसरी माफिया र भ्रस्टहरुको माकुरेजालोमा कमिलाझै परिरहेको छ भन्ने कुरा डाक्टर गोबिन्द केसिको सुरुदेखि अहिलेसम्मका पटकपटकका अनसनले उदाङ्गो पारेको छ। सतहमा ल्याईदिएको छ।
डाक्टर केसिको शान्तीपुर्ण अभियानले स्वास्थ्य क्षेत्र लगाएत समग्र क्षेत्रमा सुधारको संकेत मिलेको थियो। यति हुदाहुदै, सरकार बन्ने र ढल्ने फेरि नया बन्ने प्रबृत्तीसंगै डाक्टर केसिसंग भएका समझदारीको उल्लंघन गरिदै आएको छ। यसैको उपज डाक्टर केसि अनसन बसिरहनु परिरहेको छ। सम्झौता गर्ने तोढ्ने प्रबित्तिको अन्त्यका खातिर यो अनशन निर्णायक होस् भन्ने वहाँको चाहाना थियो र छ भन्ने लाग्छ।
सरकार डाक्टर केसिलाई गलाउने ध्याउन्नमा लागिरहेको आभाष मिलिरहेको छ। र सुद्दिकरणको समग्र आन्दोलनलाई तुहाउने खेलमा लागिरहेको अनुभूति भैरहेछ। होईन भने बौद्दिक चोरिको आरोप प्रमाणित भएका त्रीबी उपकुलपति तिर्थराज खनियालाई बर्खास्थ नगरेर र कनिष्ठ, आर्थिक हिनामिनाको मुद्दामा मुछिएका, उमेर हकबन्दिका कारण ३ महिनापछि स्वत अबकाश हुन लागेका ब्यक्तिलाई आईओएमको डिन नियुक्ती गरि किन उनिहरुलाई आडभरोशा दिईरहेछ??
यहि अनशनको तेश्रो दिन दिउँसो डाक्टर केसिलाई मैले भेट्न गएको थिएं। झण्डै १ घण्टा डाक्टर केसिको सान्निध्यमा बिताएको थिएं। वहाँले भन्नू भएको थियो- “मैले बाबुराम, खिलराज, सुशील, केपिलाई भोगिसंके प्रचण्डलाई भोग्दै छु। मलाई लाग्छ यिनिहरु मध्य सबभन्दा भ्रस्ट/निकम्मा प्रचण्ड हुन्।” लाग्दैछ, डाक्टर केसि शतप्रतिशत सहि हुनुहुदो रहेछ।
प्रचण्ड यदि निकम्मा हुन्नथे भने भारतिय कर्पोरेट बाबा सामु पटक पटक लम्पसार पर्न जाने तर आफ्नै देश र जनताको हितका निम्ति आफ्नै जिन्दगिलाई धरापमा पारेर लडिरहेका, १९ दिनदेखी निर्जल डाक्टर केसिलाई एकपटक पनि भेट्न उचित नठान्ने, उनका माग पूरा गर्न भन्दा पनि केसिलाई गलाउन तिर लाग्ने किन गर्थेर?
स्पस्ट छ उनी निकम्मा हुन्। उनी केबल नेपाल आमाको छाती माथी खलो बनाएर गाडिएको माफियाको मियोमा गोरुझै नारिएर घुमिरहेछन्, दाईँ हालिरहेछन्। उनिसंगै एउटै दाम्लोमा नारिईरहेछ लोकतन्त्रको हिमायती भन्ने काँङ्ग्रेस, देशभक्त सच्चा कम्न्युस्ट भन्ने एमाले, राप्रपा, मधेशबादी दल, अन्य दल र उनिहरुका भात्री संगठनहरु- सक्दो दाईँ हालिरहेछन्। कस्तो बिडम्बना! उनै बाट आश गर्नुपर्ने डाक्टर केसिले, हामी जनताले!
प्रचण्डलाई सोध्न मन लागेको छ, तपाईको तथाकथित जनयुद्द के माफियाको वरिपरि घुम्नलाई थियो ? १७ हजार निर्दोष जनताको बलि केस्का लागि थियो? सर्बहारा जनताको मुक्तिका लागि भनेर लडेको होईन? सारा दुख र कस्टको उन्मुक्तिका लागि हो भन्दै, ठुलाठुला क्रान्ती र बिकाशका सपना देखाउदै, बुर्जुवा शिक्षा काम छैन भन्दै भन्दै आफ्नो कापी र किताब राम्ररी समाउन नसक्ने हाम्रा हत्केलाहरुले बन्दुक समाउन लगाईन्थ्यो, होईसाईन्थ्यो। स्वाभिमानका धौलागिरी जत्रा कुरा गरिन्थ्यो, देशभक्तिका सगरमाथा भन्दा ठुला कुरा गरिन्थ्यो। के यो सब दलाल, माफिया र प्रभु वरिपरि घुम्नलाई थियो? केस्का लागि थियो काम्रेड केस्का लागि??
भुपी शेरचनले भनेजस्तै यो हल्लैहल्लाको देश हो। जहाँ स्टक एक्सचेन्जका शेयर जस्तै आत्मा क्रय-विक्रय गर्न सक्नेहरु नेता हुन्छन् । हो यस्तो नेताहरु भएको देशमा डाक्टर केसिलाई पागल भनिनु अनौठो कुरा होईन। देवकोटाले पागल कबिता त्यत्तिकै लेखेका होईनन्।
कसैले पागल हो भन्छन्, कसैले सत्याग्रहलाई फितलो बनायो भन्छन्। तान्नेले खुट्टा तानिरहेका छन्। धस्नेले छुरा धसीरहेका छन्। जजस्ले यस्तो हर्कत देखाईरहेका छन् तिनिहरु भ्रस्ट हुन्, माफिया हुन्। तिनिहरु धन, दौलत र शक्तिका लागि, आफ्नो स्वाभिमान बेच्छ्न्। जनता बेच्छन्। देश बेच्छ्न्। उनिहरु कालोलाई सेतो भन्न हिच्किचाउदैनन्। सेतोलाई कालो भन्न लजाउदैन्। उनिहरु जे पनि गर्छन्। जे पनि भन्छन्।
निष्ठाका धरोहर डाक्टर केसिलाई यस्तो कुराले छुन्न। त्यागिहरुलाई भ्रस्टहरुका कुराले छुदो रहेनछ। जस्ले आफूभन्दा माथी उठेर देश र सर्बसाधरण जनताको बारेमा सोच्छ माफियाहरुका लाल्छ्नाले एकरत्ती छुदोरहेनछ। त्यसैले त मेरो भेटमा भन्नू हुन्थ्यो, “कुनै पनि भ्रस्ट नेताले वा उनका आसेपासेले मैले गर्दा सत्या ग्रह फितलो भयो भन्छ भने म मान्न तयार छैन। मेरो जोड कहिल्यै पनि ब्यक्तिमा थिएन नितिमा हो।पद्दतिमा हो। नीति र पद्दती अनुशार नभएसम्म म फेरि फेरि पनि अनसन बस्न हिच्किचाउदिन। जहाँसम्म जनताको कुरा छ, उनिरुले फितलो भयो भने भने मलाई छुन्छ। सोच्नु पर्ने हुन्छ।”
हे पैशा र शक्तिका लागि मरिहत्ते गर्ने माफिया हो, भ्रस्ट हो! तिमिहरुलाई थाहा छ धन,दौलत र शक्तिका बादशाह, बिस्वबिजेता, मेसिडोनियाका राजा ‘अलेक्जेण्डर द ग्रेट’ मृत्यु शैय्याबाट आफ्ना जनरलहरुमाझ उनको अन्तिम इच्क्षा यसरी भनेका थिए, “मेरो मृत्यु पश्चात मेरो कुनैपनी स्मारक नबनाउनु, मेरो शरीर गाडी दिनु, मेरा हातहरु बाहिर देखाई दिनु जस्को कारण संसारका मान्छेलाई यो थाहा होस् कि संसार जितेको मान्छेका हातमा मर्दा केही थिएन।”
राम्रो कार्य गरे अनुशार फल पाउनु/खोज्नु ठिकै हो। तर कुकार्य गरेर जोडेको धन पाप हो। मरेर लानु के छ र किन मरिहत्ते गर्छौ हँ? यो देशमा जे भैरहेछ खाली आर्थिक सबालमा भैरहेछ। पैसाको सबालमा भैरहेछ। माफियाकरण भन्नुनै कालो धन जम्मा गर्ने प्रणाली हुनु हो
फस्ट्याउनु हो। यसैले यो कुरा यहाँ जोडेको हुँ।
अघिल्लो साल लागू भएको चिकित्सा शिक्षाको भर्ना शुल्क यो साल तोडिएको छ। उपत्यकामा ३५ लाख र उपत्यका भन्दा बाहिर बढिमा ३८ लाख भर्ना शुल्क तोकिएको थियो। अहिले माफिया र भ्रस्टहरुले २० लाख भन्दा बढी शुल्क लिई भर्ना गरेका छन्। ६० लाख भन्दा माथिको रकममा एमबिबिएसका सिटहरु बिक्रि भैरहेका छन्। २००० बिध्यार्थीबाट २० लाख बढिका दरले शुल्क लिदापनि ४ अर्ब कालो धन ब्यक्तिको गोजिमा गएको छ। करको दायरा बाहिर गएको यत्रो रकम ब्यक्तिको गोजिमा जानू अत्यन्तै खेदजनक छ। यो राज्यमाथिको दोहन हो।
उचित रकम मात्र तिर्छौ भन्ने योग्य र जेहेन्दार बिध्यार्थिलाई पाखा लगाएर कमजोर जस्ले तोकिए भन्दा दोब्बर रकम तिर्यो उसलाई भर्ना लिईएको छ। कमजोर र गवांर हुदाहुदै पहुँच र पैसाको भरमा किनिएको डिग्रीले भोलि गएर हामिलाई कस्तो स्वास्थ्य सेवा देला? के उनिहरुले हाम्रो स्वास्थ्यमाथी खेलवाड नगर्लान्? स्वास्थ्य सेवा कति महङ्गो होला?
इन्स्टिच्युट अफ मेडिशिन(IoM) अन्तर्गत प्रत्यक बर्ष झण्डै १००० डाक्टर उत्पादन हुन्छन्। भोलि गएर ती डाक्टरले बर्षमा झण्डै १ लाख बिरामिलाई सेवा दिन्छन्। हजार जना मध्य माफिया र भ्रस्टहरुले खनेको बाटो हुँदै आएका यदि आधाजसो कमजोर बिध्यार्थी डाक्टर भएर निस्के भने, बर्सेनि ५० हजार बिरामिको जिन्दगी जोखिममा पर्छ। ज्यान जान सक्छ।
हामी र हाम्रा आफन्त बिरामी भएर अस्पताल भर्ना हुदा, अस्पताल र डाक्टरको लापरबाही र हेलचक्राईले जिन्दगी जोखिममा पर्यो वा ज्यानै गयो भन्ने अस्पताल तोडफोड गर्ने, डाक्टरलाई धम्की दिने हो बल्ल? होईन भने अहिले तिनै माफिया र भ्रस्टका बिरुद्द, तिनकरोड जनताको सुदृढ स्वास्थ्य/शिक्षाको लागि अनबरत रुपमा लडाइँ लडिरहेका गोबिन्द केसिलाई साथ दिन छाडेर किन मौन?
कहिं नपुर्याउने, सिन्को नभाँच्ने राजनितिको अन्तहिन बहसमा रमाउन सक्छौ हामि तर डाक्टर केसि आफ्नो ज्यानलाई जोखिममा राखेर लडिरहदा पनि टुलुटुलु हेरेर मौन बस्छौ। माफिया र भ्रस्टले देशलाई बर्बादी तिर डोहोर्याउदा पनि हामी चुपचाप बस्छौ? यस्तो बेला त प्रतिकारको आगो ओकल्न पर्ने होईन? सचेत नागरिक हुनुले देश प्रतिको आफ्नो कर्तब्य निभाउन पर्ने होईन र?
यो देश सतिले सरापेको देश हो, यो देशमा केही हुन्न भनेर फलाकी रहने कि देश लुट्न पल्केका माफिया र भ्रस्टका बिरुद्द जाईलाग्ने?? अब पनि सोच्न ढिला?? भनिन्छ युवा भनेका देशका मेरुदण्ड हुन्, देश बनाउने उर्जा हुन्। कि मौन धारण कि जे कुरामा पनि नकारात्मक टिप्पणी, यहि हो त हामि युवाको उर्जा? माओ भन्थे, “अन्याय देख्दा आखामा आगो नउब्जाउने युवा युवानै होईन।”
हामी, हामी माथी भैरहेको अन्याय, देशमाथी भैरहेको अन्याय हेरेर बसिरहने? अब त अत्ति भो, उठौ जागौ युवा हो। हामिले यो देशका क्यान्सरहरुको केमोथेरापी नगरे कसैले गर्ने छैन। पाईलै पिच्छे च्वास्स च्वास्स घोचिरहने देशका घातक गुहेत्राहरुलाई जरैदेखि हामिले उखलेर नफाले कसैले फाल्नेवाला छैन।
हामी नजागे, हामी नलागे यो देश संधैको अस्थिर र गरिब भैरहने छ। हामी अस्थिर र गरिब देशका नागरिक भनेर संसारभर अपहेलित हुनुपर्नेछ। अरबको बालुवामा पसिना चुहाईरहनु पर्नेछ, तरकारी फलाईरहनु पर्नेछ। युरोपियन र अमेरिकिका जुठा भाँडाहरु मोलिरहनु पर्नेछ। छातीभरी आफन्त र देश बोकेर बिदेशी गल्लिहरु चहारिरहनु पर्नेछ। अब त उठौ जागौ युवा हो, देश बनाउन लागौं। डाक्टर गोबिन्द केसिलाई संधै साथ दिऔं।