मौलिकको शाब्दिक अर्थ मूल भन्ने हुन्छ । मौलिकता भनेको मौलिक हुनाको भाव वा अवस्था हो । सिर्जनासँग जोड्दा मौलिकताको अर्थ कसैसँग नलिएको कसैको नक्कल नगरेरकोे, कसैबाट पनि प्रभावित नभएको आफ्नै वा नवीन सिर्जना भन्ने हुन्छ । तर मौलिकता के हो भन्ने विषयमा सर्जकहरु बिच नै अन्यौल छ । वास्तवमा के हो भनेर ट्युसन पढाएर सिक्ने विषय पनि होइन । यो मनमष्तिष्कबाट आउने विषय हो । हाम्रो जीवनशैली नै मौलिकता हो । मौलिकता भनेको हरेक समाजको इतिहास, धर्म, संस्कृति, परम्परा रहनसहन, खानपान सबै हो ।
एक्काइसौँ शताब्दीको यो दशकमा हामी मौलिकतामा बाँच्ने बहस गर्ने तर मौलिकतालाई कुल्चिँदै जाने संक्रमणकालीन अवस्थामा रहेका छौँ । विदेशी संकृतिले हाम्रो संस्कृतिमाथ धावा बोलिरहेको छ । यसो हुनुको कारण हाम्रो गरिबी पनि एउटा कारण हो । कुनै पनि देश आफैँमा सम्पन्न भए उसले मौलिकता बचाउन सक्दछ । जति देश गरिब हुन्छ उसको मौलिकतामाथि अन्य देशको धर्म, संस्कृतिको अतिक्रमण हुन्छ ।
यति बेला हाम्रो मौलिकतामाथि चौतर्फी अतिक्रमण छ । त्यो अतिक्रमण अन्यबाट जबर्जस्तीभन्दा पनि हामीले स्वच्छिक रूपमा भित्र्याइरहेका छौँ । हाम्रो धर्म, संस्कृति, सामाजिक जीवनशैली, राजनीति, अर्थतन्त्र, कला, साहित्य सबैतिर अतिक्रमण बढ्दो छ । वैदेशिक सहायताका नाममा भित्रिएका यस्ता अतिक्रमणले हाम्रो पहिचानलाई नै धरापमा पार्न सक्ने सम्भावना छ । एकातिर हामी हाम्रो मौलिकतामाथि अतिक्रमण भित्र्याइरहेका छौँ अर्कातिर मौलिकता जोगाउनुपर्ने भनी बहस पनि गरिहरका छौँ । हरेक क्षेत्रमा मौलिकताको बहस हुन्छ । मौलिकता जोगाउने कुरा हुन्छ, तर काम हुँदैन । पुरै अरूको नक्कल गरेर सबैभन्दा मौलिक सिर्जना गरँे भन्नेको पनि नेपालमा कमी छैन ।
विभिन्न क्षेत्रमा बेलाबेलामा चलिरहने बहसहरुमध्ये नेपाली चलचित्रमा मौलिकताको बहस पनि एउटा हो । नेपाली चलचित्रमा मौलिकता छैन भन्नेहरु जति बलियो तर्क राख्छन् त्यो भन्दा बलियो तर्क आफ्ना चलचित्रलाई मौलिक भन्ने निर्माता र निर्देशकहरु गर्छन् । हरेक निर्माता निर्देशकहरु आफ्ना हरेक चलचित्रलाई फरक धारको भन्न रुचाउँछन् । अनि चलचित्र चलोस् वा नचलोस् दर्शकले मेरो चलचित्रलाई धेरै माया गरे अत्यन्त सफल भयो भन्ने सुगा रटाइ गरिहाल्छन् ।
जुन चलचित्रको प्रिमियर “सो”मा नै पत्रकारहरुलाई कक्टेल खुवाएर आफ्नो चलचित्रको बारेमा बढाइचढाइ लेख्न अभिप्रेरित गरिन्छ, प्रोपोगण्डा नै गर्ने उद्देश्यले चलचित्र भनेपछि फुटेको आँखाले पनि हेर्न नचाहने राजनीतिक दलका नेताहरूलाई ल्याएर प्रिमियर “सो”मा प्रमुख अतिथि बनाइन्छ, नेताले चाख लिएर चलचित्र हेरेको भनी नेताको अनुहार खिचेर टिभीमा देखाइन्छ र त्यतिले नपुगेर चलचित्रको प्रचारप्रसारका लागि बिचरा ती कलाकारहरुलाई हलसम्म पु¥याइन्छ त्यस्ता चलचित्रहरु कति सफल होलान् ? चलचित्र प्रदर्शन गर्दा हलमा सबै सिट खाली हुन्छ तर एक दिन कलाकारलाई समेत हलसम्म पु¥याएर जबर्जस्ती दर्शक जम्मा गरी त्यो दृश्य छायांकन गरी टेलिभिजन कार्यक्रमहरुलाई सशुल्क प्रसारण गर्न लगाइन्छ र बिचरा नेपाली दर्शकको मनमष्तिष्कमा सफल चलचित्रको भ्रम फिँजाउने फोस्रो कसरत गरिन्छ । त्यो कस्तो सफल चलचित्र होला ? यस्ता बेमौसमका डम्फू बजाएकै भरमा नेपाली चलचित्र बनाएको दाबी गर्ने र अत्यन्तै सफल भएको हौवा पिट्ने निर्माता निर्देशकहरुहको आजकल नेपाली चलचित्र बजारमा भीड नै छ ।
कस्तो चलचित्र चाहिँ फरक धारको नेपाली चलचित्र हो र कस्तो चलचित्र चाहिँ फरक धारको होइन ? कुनचाहिँ विशुद्ध नेपाली चलचित्र हो र कुनचाहिँ मिसमास भएको नेपाली चलचित्र हो ? चलचित्रलाई सफल भन्ने मापदण्डहरु के के हुन् ? कुन चाहिँ चलचित्र राम्रो चलचित्र हो ? थोरै लगानी गरी धेरै पैसा जम्मा गरेको चलचित्र सफल हो कि, धेरै लगानी गरी भारतीय कलाकार र प्राविधिकलाई समेत काममा लगाइएको चलचित्र चाहिँ सफल हो ? राजेश हमाललाई नायकमा लिनु सफलता हो कि तुलसी घिमिरेलाई निर्देशक बनाउनु सफलता हो ? अथवा रेखा थापालाई जति सकिन्छ छोटा कपडाको प्रतिस्पर्धामा उतार्नु चाहिँ सफलता हो कि, नायिका र राजेन्द्र खड्कीको आइटम डान्सको हौवा फिँजाउनु सफलता हो ? नायक नामको एउटा बबुरो हावामा उडेर खलनायको भुँडी नै फुट्ने गरी प्रहार गरेको देखाउनु सफलता हो कि, समाचार माध्यमहरुमा सबैभन्दा राम्रो चलचित्र भनेर सशुल्क प्रचार प्रसार गराउन सक्नु चाहिँ ठुलो सफलता हो ? त्यसैले अहिलेसम्म नेपाली चलचित्रमा सफलताको कुनै मापदउड नै छैन । मापदण्ड बिनाको हौवा सफलताको सूचक हुन सक्तैन ।
अहिलेसम्म बनेका नेपाली चलाचित्रहरुको मूल्याङ्कन गर्ने हो भने केही दर्जन जति चलचित्रलाई छोडेर बाँकी चलचित्र मूल्याङ्कनको तराजुमा चढ्न पनि योग्य छैनन् भन्दा अत्युक्ति हुँदैन । जो निर्देशक भए पनि वा कलाकार भए पनि अथवा जो निर्माता देखिए पनि एउटा चलचित्रबाट अर्को चलचित्र खासै पृथक् छैन । केटा र केटी बिचको प्रेम, प्रेमको विस्तार हुँदै जाँदा नाचगान र त्यसपछि प्रेममा बाधा अड्चन, नायक नायिकको नक्कली आँसु, दुष्टहरुको गर्जन, त्यसमा नायकको उडन्ते बहादुरी, नायक र खलनायक बिचका तिलस्मी खालको लडाइँ, नायकको अस्वाभाविक बहादुरी, अन्त्यमा खलनायकको प्रायश्चित वा मृत्यु र नायक नायिकाको मिलन वा बिछोड । यति नै हो नेपाली चलचित्र । यिनै घटनाहरूलाई यताउता तन्काएर वा खुम्च्याएर नेपाली चलाचित्र सकिन्छ । तीन घण्टाको सम्पूर्ण समय यिनै घटनाभित्रै घुमिरहन्छ ।
विषयवस्तुको सीमित घेराभित्र बसेर विषयवस्तुलाई यताउता तन्काएकै भरमा पृथक् धारको चलचित्र बनाउँछु भनेर पृथक् चलचित्र बन्दैन । निर्माता पृथक्, कलाकार पृथक्, निर्देशक पृथक् वा प्राविधिक सामग्री पृथक् हुँदैमा पृथक् धारको चलचित्र बन्दैन । पृथक् धारको चलचित्र बनाउनलाई त सबैभन्दा पहिले त विषयवस्तु नै पृथक् धारको हुनुपर्दछ । नायिकालाई दुई चुल्ठी बाटिदिँदैमा वा फाटेको चोली र छोटो फरिया लगाइदिँदैमा त्यसले नेपाली ग्रामीण जीवनको सम्पूर्णतालाई समेट्न सक्तैन, अथवा नायकलाई बिना चम्पल फाटेको टोपी लगाएर कान्ला कान्ला दौडाउँदैमा वा गैबर र लठ्ठक देखाउँदैमा नेपाली चलचित्र बनाएँ भन्ने ठान्नु पनि ठुलो भ्रम हुन्छ । यस्ता कुरा प्रदर्शनी गरेर नेपाली मौलिकता समातिँदैन, नेपाली मौलिकताको धज्जी मात्र उड्छ ।
प्रेम मानव जीवनको सम्पूर्णता हो, एउटा व्यक्तिको आफ्नी प्रेमी वा प्रेमिका प्रतिको आसक्ति मात्र नभएर आफ्नी आमा, छोरा, छोरी, परिवार, छिमेकी, समाज र सम्पूर्ण विश्वका मानव जातिलाई गर्ने प्रेमले मात्र प्रेमको वास्तविकतालाई प्रस्तुत गर्दछ । यस्तो प्रेम खै नेपाली चलचित्रमा ? खै प्रेमको सम्पूर्णता ? नेपाली चलचित्रमा देखाइने गरेका अल्लारे केटा र केटी बिचको कुर्कुरे प्रेम चाहिँ जीवनको सम्पूर्णता होइन, कसैको जीवनको एउटा पाटो चाहिँ हुन सक्ला, त्यसैले अहिले नेपाली चलचित्रहरुमा देखाइने गरेको कुर्कुरे प्रेमले प्रेमको वास्तविक रूपलाई प्रस्तुत गर्न सकेको छैन । प्रेमपरक चलचित्र नै बनाउने हो भने पनि प्रेमका यस्ता बनावटी तानबाना बन्नु पर्दैन, बग्रेल्ती वास्तविक प्रेमकथाहरु पाउन सकिन्छ । तर वास्तविक प्रेम कथा पाउनलाई छोटा लुगा लगाएर नायिकालाई पर्दामा देखाउने र नायिकाको नितम्बमा नायकले ¥याल काढेर प्रेमको सुरुवात गराउने परम्पराबाट लेखक र निर्देशक मुक्त हुनु पर्दछ ।
नेपाली चलचित्रका लेखक, निर्देशक र निर्माताहरुका लागि नेपाली कथाहरू बग्रेल्ती छन् तर त्यस्ता विषयवस्तु भेट्नलाई सबैभन्दा पहिले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक छ । काठमाडाँैका आँखाले हेरेर नेपाली कथा भेटिँदैन, मुम्बइका कथा मात्र देखिन्छ । नेपाली कथा भेट्न अछाम र डोटीका एचआइभी पीडितका गाउँगाउँमा आँखा पु¥याउनुपर्दछ, खान नपाएर भोकभोकै बस्न बाध्य कर्णालीबासीका घरदैलोमा चियाउनु पर्दछ । चेतनाको ज्योति बल्न नसकेको अन्धकारपूर्ण हुम्लाको गाउँका केटा र केटीको प्रेम कहानी खोजिनुपर्दछ । १० वर्षकै उमेरमा बलात्कृत भएर पनि अन्यायको विरुद्ध मुख खोल्न नसकेकी ग्रामीण महिलाको प्रेमको मनोविज्ञान बुझ्न सक्नु पर्दछ । ३ वर्षकै उमेरमा अपहरणमा परी हत्या गरिएको निर्दोष बालकको परिवारको विरहलाई प्रस्तुत गर्न सक्नुपर्दछ । द्वन्द्वमा सिन्दूर पुछिएका अल्लारे महिलाहरूको प्रेम इच्छाहरू प्रस्तुत गर्नुपर्दछ । गर्भमै टुहुरा भएकाहरुको सम्वेदनशीलतालाई समात्न सक्नुपर्दछ । के यी घटना वर्तमान नेपाली समाजका द्योतक होइनन् ? राजेश हमाल र रेखा थापा बिचको बनावटी र नसुहाउँदो प्रेम कहानी र बिछोडले भन्दा यी वास्तविक घटनाहरुले दर्शकको सम्वेदनालाई छिटो स्पर्श गर्दैन र ? अनि यो भन्दा अर्को नेपालीपनको झल्को जबर्जस्ती लगाइदिएको दौरा, सुरुवाल, टोपी, फरिया र चोलोमा कसरी झल्कन्छ ? पटक्कै झल्कँदैन ।
आजकल केही निर्देशकहरु बलिउड चलचित्रका कथा हुबहु आफ्ना चलचित्रमा राख्दछन् र नेपाली चलचित्र बनाएको दाबी गर्दछन् । यस्ता चलचित्रमा कथा चोरिएको वा नक्कल गरिएको भनी प्रश्न ग¥यो भने गर्वका साथ भन्छन्– “नक्कल गर्न पनि अक्कल चाहिन्छ । मसँग त्यो नक्कल गर्ने अक्कल थियो र गर्न सकेँ ।” तर यस्ता अक्कलवाला निर्देशकहरुले चलचित्रको कथा खोज्न बलिउड चलचित्र इण्डष्ट्रिजतिर अक्कल लगाउनुभन्दा आफ्नै गाउँवस्तीतिर आँखा घुमाए कसो होला ? त्यसो गरे साँचो अर्थमा नेपाली चलचित्र हेर्न पाइन्थ्यो कि ?
यति भन्दै गर्दा पछिल्लो दशकमा बनेका केही चलचित्रहरुलाई यहाँ भुलियो भन्ने अन्याय हुन्छ । पछिल्लो दशकका केही चलचित्रहरु भिन्न शैलीमा देखिएका पनि छन् जसले नेपाली मौलिकतालाई जोगाएका छन् । खासगरी कथानक चलचित्रले अतिक्रमण गरेको नेपाली मौलिकतालाई केही हदसम्म भए पनि डकुमेण्ट्री चलचित्रहरुले जोगाउने प्रयास गरिरहेका छन् । त्यसैले त आज नेपाली डकुमेण्ट्रीहरु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा प्रतिस्पर्धा गर्न मात्र होइन, उत्कृष्ट चलचित्रको उपाधि समेत हात पार्न थालेका छन् । चलचित्रमा अध्ययन अध्यापनसँग नेपाली चलचित्रमा मौलिकताको प्रारम्भ भने भएको देख्न सकिन्छ । तर यति मात्र पर्याप्त छैन । नेपाली चलचित्रमा मौलिकताको लागि आन्दोलन र अभियानको नै आवश्यकता छ ।