अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 05:29

जापानद्धारा विश्वको सबैभन्दा तीव्र गतिको ’बुलेट ट्रेन’को परिक्षण

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ४:४१ मा प्रकाशित

जापानले व्यवसायिक रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परीक्षण गरेको छ । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा गुड्न सक्ने जनाइएको छ । शुक्रबार रेलको तीन घण्टा लामो परीक्षण गरिएको बताईएको छ । सन् २०३० मा व्यवसायिक प्रयोगमा ल्याइँने यो रेल ३६० किमी प्रतिघण्टाको गतिमा गुड्नेछ ।

व्यवासायिक प्रयोजनमा प्रयोग भइरहेकामध्ये अहिले सबैभन्दा तीव्र गतिमा गुड्ने रेलसेवा चीनको ‘फुछिङ ट्रेन’ हो । फुछिङ रेल प्रति घण्टा ३५० किमी प्रति घण्टाको गतिमा गुड्छ । निर्माण गर्दा ३६० किमी प्रति घण्टा गुड्ने गरी बनाइएको फुछिङ रेलले पछि आफ्नै लक्षित गति भेट्न सकेको थिएन ।

जापानको परीक्षणमा प्रयोग भएको रेलमा १० वटा डिब्बा छन् । रेलको अगाडिको भाग सामान्य ‘बुलेट ट्रेन’को भन्दा पनि चुच्चो परेको छ । यसलाई जापानका सेन्दाई र ओमोरीबीचमा परिक्षण गरिनेछ । दुई सहरबीच २८० किमी दूरी छ ।

परीक्षण अन्य रेल नगुड्ने मध्यरातको समयमा पारेर गरिएको छ र यो हप्ताको दुई पटक हुनेछ । जापानले अहिले परिीाण गर्न लागेको रेल उसको शिन्कानसेन रेलको एएल एफए–एक्स संस्करण हो । जापानले एक वर्ष अघिदेखि शिन्कान्सेनको अर्को संस्करण एन ७०० एस परिक्षण गरिरहेको छ । उक्त मोडेल सन् २०२० बाट प्रयोगमा जानेछ ।

एन७०० एस मोडेलको गति ३०० किमी प्रति घण्टाको थियो । जापानले अर्को वर्ष ओलम्पिक खेल आयोजना गर्दैछ, एन७००एस मोडेलका रेल त्यसैलाई लक्षित गरेर ल्याउन लागिएको हो ।  व्यवसायिक प्रयोजनको लागि प्रयोग हुने रेलमध्यमा एएलएफए–एक्स सबैभन्दा तीव्र भए पनि हालसम्मकै सबैभन्दा तीव्र गतिको रेल भने जापानकै ‘म्यागलेभ’ हो । सन् २०१५ मा परीक्षण गर्दा ‘म्यागलेभ’ ६०३ किमी प्रति घण्टाको गतिमा गुडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू