अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 04:04

भारतमा पाँचौं चरणको मतदान सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख २३ गते ९:४२ मा प्रकाशित

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान भएको छ । आज सम्पन्न चुनावमा बिभिन्न ७ राज्यका ५१ स्थानका लागि मतदान भएको थियो । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान भएको अधिकारीहरुले जनाएका छन् । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान भएको बताईएको छ ।

सोमबार सम्पन्न निर्वाचनबाट उत्तर प्रदेशमा गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ । यस चरणमा कूल ६७४ उम्मेदवार चुनावी मैदानमा छन् । सोमबारको निर्वाचनमा करिब ९ करोड मतदाताले मताधिकार प्रयोग गरेको बताईएको छ ।

पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ । यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ । तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुबै स्थानमा कङ्ग्रेस नै विजयी हुने अडकलबाजी गरिएको छ ।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंग्रेसले दुई स्थान मात्र जितेको थियो । कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो । भारतीय चुनाव आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको थियो । भारतमा चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका कूल ५४२ मध्ये ४२४ स्थानका लागि चुनाव समाप्त भएको छ । बाँकी ११८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौं र सातौं चरणमा मतदान हुनेछ । चुनावको मतगणना आगामी मे २३ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू