अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 22:51

अमेरिकामा बन्दुक हिंसाको विरुद्ध जनचेतनामुलक नेपाली गीतमा भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ वैशाख १७ गते १०:०६ मा प्रकाशित

हाल अमेरिकामा ठुलो समस्याको रूपमा रहेको बन्दुक हिंसाको विरुद्ध जनचेतना दिने गीतमा भिडियो सार्वजनिक गरिएको छ ।
क्यालिफोर्निया राज्यको लसएन्जल्स सहरमा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को आयोजना गरेको एनआरएनए डिवेट कार्यक्रमसँगै अमेरिकामा भइरहेको बन्दुक हिंसाका घटनाहरूका बारेमा आधारित उक्त भिडियो एस राज प्रोडक्टसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अत्यन्तै महत्त्वपूर्ण भाव रहेको गीतमा बन्दुक हिंसा विरुद्ध जनचेतना फैलाउने भिडियोको अवधारणा सामाजिक अभियन्ता एवं सञ्चारकर्मी डोल्मा लामाले ल्याएकी हुन् । हाल उनी एरिजोनाको अमेरिकन युनिभर्सिटी अफ सोभेरिगन न्यासन विश्वविद्यालयबाट विध्धावारिधी गर्दै छिन् ।

एस राज प्रोडक्शनका एस.राज (शङ्कर राज वाग्ले)को निर्देशन तथा छायाङ्कन रहेको भिडियोमा मुख्य कलाकारहरू लसएन्जल्स निवासी सुरज श्रेष्ठ र न्यु योर्क फिल्म एकेडेमीमा अध्ययनरत ब्राजिलिएन मूलकी कलाकार रेब्बिका मो मो रहेका छन् । उक्त भिडियोमा सहायक कलाकारहरू कुसुम थापा, इन्दिरा त्रिपाठी, डोल्मा, चक्रपाणि मिश्र, चूडामणि गौतम लगायतको पनि अभिनय रहेको छ ।

भिडियोका निर्देशक वाग्लेले यसअघि चर्चित नेपाली धारावाहिक ‘मेरी बास्सै’मा निकै रुचाइएको भूमिका राईफलेका भूमिकामा अभिनय गरी चर्चा कमाएका थिए । नेपालमा पनि हत्या हिंसा विरुद्ध जनचेतनामुलक भिडियोहरू बनाउँदै अभिनय गर्ने वाग्ले हाल अमेरिकामा समेत विभिन्न हिंसा, हत्या र सामाजिक विकृतिसँग सम्बन्धित जनचेतनामुलक भिडियोहरू निर्माण गरी रहेका छन् । 

भिडियोका सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । ‘यो जीवनको के भर छ र !’ बोल रहेको गीतलाई चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने सङ्गीत वरिष्ठ सङ्गीतकार हरि लम्सालले र रचना गीतकार अनमोल मणिले गरेका छन् भने यसमा संयोजन लसएन्जल्सबासी युवा व्यवसायी तथा सामाजिक अभियान्त दिनेश शाहले गरेका छन् ।

यो भिडियोमा हामी कोही कसैको जीवनको केही भर छैन, कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ, हामीलाई थाहा छैन भन्ने भाव प्रस्ट्याउन खोजिएको छ र यस्ता खाले घटनालाई अमेरिकामा जल्दो बल्दो विषयमा लिईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू