अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 23:23

बिआरआईमा सहभागी हुन विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सि को आग्रह

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १०:०५ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआईमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई पनि आग्रह गर्नुभएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स् सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सो धारणा राख्नुभएको हो । उहाँले चीनको उक्त आयोजनामा थप देशहरुलाई आबद्ध हुन आग्रह पनि गर्नुभएको सो समाचारमा जनाइएको छ ।

उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरु उपस्थित हुनुभएको छ । सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभागिता रहेको थियो ।

सो सम्मेलनमा राष्ट्रपति चिनफिङले चीन उक्त आयोजनामा बढी भन्दा बढी देशको सहभाागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राख्नुभयो । साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उहाँले बताउनुभयो । त्यसैले धेरै भन्दा धेरै देश एवम् कम्पनीहरुको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरुको रहेको पनि उहाँले बताउनुभयो ।

तर पनि कतिपय विश्वका देशहरुले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेका बताइन्छ । उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ । बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिइ आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उहाँले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सार्नुभएको थियो ।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफलहरु जरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू