अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 23:26

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ वैशाख १३ गते ९:३७ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो ।

रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार त्यहाँबाट फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । यी दुई नेताबीचको भेटवार्ताले मस्को र प्योङयोङबीचको सम्बन्ध अझै बलियो हुने विश्वास गरिएको छ ।

दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भएको थियो । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको थियो । रुसी राष्ट्रपति पुटिनले बिहीबार नै भ्लादिभोस्तक छोड्नु भएको थियो । पुटिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउन लाग्नुभएको छ । चीनमा आयोजना हुने बिआरआई अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ लाग्नु भएको छ ।

दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित भएको रुसी अधिकारीले बताएका छन् । यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नभएको र कुनै नयाँ सम्झौतामा हस्ताक्षर नभएको क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताउनुभएको छ । उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू