अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८
| Colorodo: 01:13
कविता
चिसो सगरमाथामा
कठ्याङ्ग्रिएर फरफराउन बाध्य
मेरो झन्डा झैँ
वसन्तको खोजीमा भौँतारिइरहेको
एक नाङ्गो रूख हेर्दै
अधुरो सपना बुनिरहिछन्
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा
मधुर आवाजसँगै
मयूरको नाच रच्दै
न्याउलीको करुण रोदनको साथ
रुँदै चिच्याउँदै
विरक्ति रहेकी छन्
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा
आफ्नै छोराबाट थिचिएर
आफ्नै छोरीबाट मिचिएर
ती अँध्यारा गल्छेडाहरूबाट
मुक्ति पाउने आशामा
कसैलाई कुरिरहेकी छन्
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा
उषाको लालीले चुम्दैन उनलाई
जुनेली रातले छुँदैन उनलाई
एक निस्पट्ट अन्धकारभित्र रुमलिएकी
ओइ लिएको पाटल
पिञ्जरामा पिल्सिएकी चरीझैँ
वेदना र तप तप आँसुको भेलमा
डुब्दै, तैरिँदै
अस्मिता
दाउमा लगाइरहेकी छन्
ऊ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा ।।