अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 10:30

रसुवागढी जलबिद्युत आयोजनाको शेयर बैशाख पहिलो साता खुल्ने, न्यूनतम ५० कित्ता सेयर भर्न पाइने

बिआरटीनेपाल २०७५ चैत २६ गते ९:५१ मा प्रकाशित

रसुवागढी जलविद्युत आयोजना, माथिल्लो सान्जेन र सान्जेन गरी १६८ मेगावट जलविद्युत् आयोजनामा पुँजी जुटाउन बैशाख पहिलो साताबाट सर्वसाधरका लागि शेयर खुलाइने भएको छ । मन्त्रीस्तरीय बैठकबाट हालै मात्र जनताको जलविद्युत आयोजना अन्तर्गत पारिएका यी दुई आयोजनाको लागि आगामी बैशाख ६ देखि १० गतेसम्म शेयर आवेदन खुल्ला गरिएको हो।

दुबै आयोजनामा सर्वसाधरणको १५/१५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ। स्थानीयले छूट्टाइएको १० प्रतिशत र सर्वसाधरणलाई छुट्टाइको १५ प्रतिशतबाहेक अन्य ७५ प्रशति शेयर यसअघि नै आयोजनाले उठाइसकेका छन् । स्थानीयको लागि सान्जेनमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर छुट्टाइएको छ। त्यस्तै, रसुवागढी आयोजनामा एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधरणको लागि छुट्टाइएको छ । रसुवागढीबाट १११ मेगावाट, सान्जेनबाट ५७ मेगावाट विद्युत् उत्पादन गर्न लक्ष्य राखिएको छ।

यी दुबै आयोजनामा मन्त्रिपरिषद्का सबै सदस्यहरूले सेयर भर्ने प्रतिबद्धता जनाएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभयो । पुनले आफूले एक हजार कित्ता शेयर भर्ने जनाउनुभयो । न्यूनतम ५० देखि अधिकतम पाँच हजार कित्ता शेयर भर्न पाइने व्यवस्था गरिएको छ।

यसअघि माथिल्लो त्रिशूली थ्री ’बी’मा १० प्रतिशत रकमले अर्थात १०० रुपैयाँ शेयरको लागि १० रुपैयाँले बुकिङ गर्न पाइने व्यवस्था गरिएकोमा यसमा भने त्यस्तो व्यवस्था गरिएको छैन। दुवै आयोजनाको ५० प्रतिशतभन्दा बढी प्रगति भएको कारण शतप्रतिशत रकम नै बुझाउनु पर्ने व्यवस्था गरिएको हो। सान्जेनमा अहिलेसम्म ७७ प्रतितश भौतिक प्रगति भएको छ भने रसुवागढीमा ७० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । यो आयोजनामा अहिले एक हजार जानले काम गरेका छन् । २०७६ साल फागुन ७ गतेबाट उत्पादन सुरु गर्ने गरी आयोनाको काम गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू