पोखराको हेम्जामा जारी दशौं राष्ट्रिय हेमजा आलु महोत्सव मा १० लाख भन्दा वढीको आलुको कारोवार भएको छ । सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।
महोत्सवमा मंगलवार लोकदोहोरी , हास्यव्यंग , रत्यौली प्रतियोगिता तथा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताहरु जारी रहेका छन् । महोत्सवका आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी , टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।