बेलायतको संसद्मा अर्धनग्नहरुले प्रदर्शन गरेका छन् । जलवायु परिवर्तनको विरोध गर्ने एक समूहले अर्धनग्न भएर तल्लो सदन हाउस अफ कमन्समा प्रदर्शन गरेका हुन् । सांसदहरूले ब्रेक्जिटका विषयमा बहस गरिरहँदा प्रदर्शनकारीहरू पब्लिक ग्यालरीमा प्रवेश गरी प्रदर्शनका उत्रिएका थिए ।
प्रदर्शन गर्ने क्रममा एक्सटिंक्सन रिबेलियन ग्रुपका ११ कार्यकर्ताले भित्री कट्टु मात्र लगाएर शरीरमा वातावरणवादी नारा पोतेका थिए । ट्विटरमा उक्त समूहले जलवायु तथा पर्यावरणीय संकटका विषयमा ध्यान आकर्षित गर्न चाहेको बताएको छ ।
प्रदर्शनकारीहरूले पब्लिक ग्यालरीको छेउमा उभिएर सांसदहरूलाई ढाड देखाएका थिए । प्रत्यक्षदर्शीका अनुसार, सांसदहरूलाई उनीहरूतर्फ नहेर्न निकै सकस परेको थियो । केही रिपोर्टमा जनाईएअनुसार, वातावरण कार्यकर्ताहरूले पब्लिक ग्यालरी र संसद्को च्याम्बरबीचको शीशामा आफूलाई टाँस्न खोजेका थिए । उक्त विरोध प्रदर्शनले ब्रेक्जिट बहसलाई भने रोक्न नसकेको र प्रहरीले कार्यकर्ताहरूलाई कोठाबाट बाहिर निकालेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् ।