अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 08:42

हावाहुरीले बिद्युत प्राधिकरणको १५ करोडको क्षति, मंगलबारसम्म विद्युत् सन्चालन गरिने

बिआरटीनेपाल २०७५ चैत १८ गते ९:३२ मा प्रकाशित

आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड रुपैया बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारणलाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगन्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ । हुरी–बतासका कारण परवानीपुर–वीरगन्ज ६६ केभी डबल सर्किट प्रसारणलाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ ।

यस्तै, वीरगन्ज–कलैया ३३ केभी प्रसारणलाइनमासमेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारणलाइनको ठूलो टावरसमेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् । क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली हुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीले सोमबार साँझसम्म केही स्थानमा र मंगलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको जानकारी दिनुभएको छ । हावाहुरीले प्राधिकरणका तार चुँडेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिनुभयो । विद्युत् प्रणालीमा क्षति पुगे पनि विद्युतीय दुर्घटना हुन नदिन प्राधिकरणले सजगता अपनाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता अधिकारीले दैवी–प्रकोपबाट हुन पुगेको प्रणाली सुधार गर्न सबै प्रकारको साधन र स्रोत परिचालन गरिएको बताउनुभएको छ । बारा र पर्साका क्षेत्रबाहेक देशभर विद्युत् प्रणालीमा कुनैपनि समस्या नरहेको प्राधिकरणले स्पस्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू