अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ । दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाले सरकारले कर प्रणाली वैज्ञानिक बनाएको र कानुनी सुधार गर्दै लगानीको वातावरण तयार पारेको जानकारी गराउनु भयो ।
४० देशका ६ सय बढि लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गर्न अहिले उपयुक्त वातावरण भएको समेत बताउनु भएको छ । सम्मेलनमा सहभागीहरुलाई नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै उहाले सरकार द्रूत आर्थिक विकाससहित अघि बढ्न चाहेको उल्लेख गर्नुभयो ।
“नेपालको आर्थिक वृद्धि सात प्रतिशत छ, पर्यटन र अनेक प्रकृतिक स्रोतले सम्पन्न मुलुकमा लगानीमा कुनै बाधा छैन”, अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाले नेपालले आर्थिक वृद्धिमा महत्वपूर्ण कदम चाल्ने बताउँदै सन २०३० मा नेपाल विकसित मुलुकको सूचिमा पुग्ने समेत जानकारी गराउनु भयो ।
आजबाट काठमाडौंमा सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनमा सहभागी हुन ४० बढी देशका ६ सय बढी विदेशी लगानीकर्ता नेपाल आएका छन् । सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ । यी आयोजनाको लागत ३० खर्ब बढी छ।