अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 14:53

रुस र भेनेजुएलाबीच महत्वपूर्ण २० सम्झौता हुँदै

बिआरटीनेपाल २०७५ चैत १३ गते ९:३८ मा प्रकाशित

रुस र भेनेजुएलाबीच बिभिन्न २० सम्झौतामा हस्ताक्षर हुने भएको छ । ऊर्जा र शिक्षा समेतका गरी विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । “अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,” रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले भन्नुभयो ।

दुईवटा रुसी सैनिक विमान १०० सैनिकका साथ भेनेजुएलाको काराकास उत्रेको भोलिपल्टै राष्ट्रपति मदुरोको यस्तो भनाई सार्वजनिक भएको हो । राष्ट्रपति मदुरोले अमेरिकी नेतृत्वमा आएको भनिएको मानवीय सहायता ‘नक्कली’ भन्दै रुसले वास्तविक मानवीय सहायता पठाएकामा रुसलाई धन्यवाद दिनुभयो । “दुई साताअघि कैयौं टन सहायता सामग्री रुसबाट आइपुग्यो । सहयोगको अर्को खेप पनि प्राप्त हुने आशा गरेका छौं र हामीलाई सबैभन्दा बढी आवश्यकता औषधिको हो ।” मदुरोको भनाई थियो ।

गत जनवरीमा विपक्षी नेता हुँवा गुएइदोले आफूलाई मुलुकको आधिकारिक राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको छ । संयुक्तराज्य अमेरिकासहित अधिकांश युरोपेली राष्ट्रहरुले गुएइदोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् तर रुस, चीन, टर्की समेतका केही देशले मदुरोलाई समर्थन जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू