अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 08:22

चिया मजदुहरु आन्दोलित

बिआरटीनेपाल २०७५ चैत १२ गते १०:१५ मा प्रकाशित

श्रम शोषण गरिएको भन्दै चिया मजदुर फेरि आन्दोलित बनेका छन्। सरकारले यही चालु आर्थिक वर्ष २०७५ साउनदेखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोकेको छ। तर, चिया बगान र कारखानाका मालिकले सरकारले तोकेको पारिश्रमिक लागू नगरेपछि पूर्वका चिया मजदुर फेरि आन्दोलित बनेका हुन्।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रूपमा मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त आन्दोलन संघर्ष समितिले चैत १७ गतेदेखि झापासहित देशव्यापी आन्दोलन गर्ने भएको छ । समितिले चैत १७ गते देशभरका चिया प्रतिष्ठानहरू अनिश्चित काल तालाबन्दी र झापाको सदरमुकाम भद्रपुरमा विरोध सभा गर्ने, चैत १८ र २० गते प्रत्येक इकाहरूमा औजारसहित बृहत् जुलुस प्रदर्शन गर्ने, चैत १९ गते विर्तामोडमा र २१ गते काँकडभिट्टामा विरोध सभा गर्ने तयारीसहितको कार्यक्रम रहेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो ।

सरकारले तोकेको न्यूनतम ज्याला बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिक दैनिक २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो। इलाम र धनकुटाका पाँच वटा चिया बगानमा कार्यरत मजदुरबाहेक नेपालका पाँच जिल्लाका चिया मजदुरले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नौ महिना बितिसक्दा अहिलेसम्म पाउन नसकेको नेपाल चिया श्रमिक संघले जनाएको छ। इलामका तीन र धनकुटाका दुई उद्योगले भने मजदुरलाई सरकारले तोकेको पारिश्रमिक दिन थालेका छन्।

झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममा बढी चिया खेती हुने भएकाले ती जिल्लामा बढी चिया मजदुर कार्यरत रहेका छन्। बगानमा चिया टिप्ने सिजनमा ५५ देखि ६० हजार मजदुरले काम गर्ने गरेका छन् भने नियमित रूपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गरिरहेका छन्। झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत रहेका छन्। उनीहरूले दैनिक ८ घण्टा काम गरे पनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू