अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 08:36

संविधानको मर्मअनुसार मुलुकमा आर्थिक विकास: नेता जोशी

बिआरटीनेपाल २०७५ चैत ११ गते १८:३२ मा प्रकाशित

काठमाडौँ, पूर्व उधोग मन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले सरकारले संविधानको मर्म र भावना अनुसार मुलुकमा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ । 

नेता जोशीले हिजो पत्रकार सम्मेलन गरी दुई तिहाइ बहुमत प्राप्त सरकारले मुलुकको आर्थिक विकासका लागि काम गर्न नसकेको बताउनु भएको हो । “अर्थतन्त्रका आधार तयार गरी स्वदेशी तथा विदेशी निजी क्षेत्रमार्फत उत्पादनशील लगानीको परिचालन गर्ने दायित्व सरकारको भए पनि सरकार त्यस कुरामा चुकिरहेको छ,”–उहाँले भन्नुभयो ।

पूर्व उद्योग मन्त्री जोशीले सन् २०१७ मा भएको लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता जनाएपनि प्रतिबद्धता र कार्यान्वयन पक्षबिच समन्वय नहुँदा समस्या परेको बताउनुभयो ।

“गत वर्षको तुलनामा यस वर्ष उद्योग क्षेत्रमा लगानीका लागि आउने प्रतिबद्धता घटेको छ, यसले के देखाउँछ भने स्वदेशी तथा विदेशी लगानीकर्तालाई वर्तमान सरकारले लगानीका लागि विश्वास दिलाउन सकेको छैन,”– उहाँले भन्नुभयो ।

नेता जोशीले आर्थिक उदारीकरण, उद्योग प्रशासनमा औद्योगिक सुशासनको व्यवस्था, भ्रष्टाचारमा शून्य सहनशीलता, एक विन्दु सहजीकरणमा कर, अनलाइन सेवा विस्तार, समय सीमाभित्र लगानी स्वीकृत हुनुपर्ने आवश्यकता भए मुलुकमा लगानी बढ्ने बताउनुभयो । 

राजनीतिक वातावरण, सुरक्षाको प्रत्याभूति, सरकार र सरकार चलाउने पार्टीमाथिको अन्तर्राष्ट्रिय विश्वसनीयता, लगानी फिर्ताको सुनिश्चितता, सरोकारवालासँग पर्याप्त छलफल गरेर ऐन कानुन निर्माण गरे मुलुकमा लगानी मैत्री वातावरण निर्माण हुने उहाँको भनाई थियो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले सरकारले अघिल्लो लगानी सम्मेलनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढे मात्र मुलुकमा लगानीको वातावरण निर्माण हुने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू