अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 01:35

रङ्गशाला निर्माणका लागि लमजुङ आमा समूहको ६ लाख ५५ हजार सहयोग

बिआरटीनेपाल २०७५ फागुन २७ गते १०:३० मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह, युकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेको छ । सोमबार फाउण्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङ सहित अन्य पदाधिकारीहरूको उपस्थितिमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।

युकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोस्रो रमाइलो साँझ’ बाट सङ्कलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसँग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफूहरू प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताइन् । ‘उहाँहरूको कामबाट हामी निकै प्रभावित छौँ’ अध्यक्ष गुरुङले भनिन् ‘युकेमा रहनुहुने सबै आमाहरूको सहयोगमा हामीले कार्यक्रम गरेर सङ्कलन गरेको रकम उहाँहरूलाई दिन पाउँदा हामी निकै खुसी छौँ ।’

सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ ले सबैलाई धन्यवाद दिइन् । ‘यो सहयोग मात्रै होइन, नारी एकता, नारी शसक्तता पनि हो जस्तो लाग्छ’ घिमिरेले भनिन् ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुख पर्दा सहयोग गर्ने लमजुङ आमा समूहको कामले म आफैंपनि नारी भएको हिसाबले निकै खुसी छु ।’

देशकै गौरवको गरियोजना आफूहरूले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफूहरूलाई निकै ठुलो हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले भने ‘रङ्गशाला नितान्त यहाँहरूकै सहयोगमा निर्माण सफल हुने हो । सबै जना अभियान्ता बनेर सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू