अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 06:35

मोदीमाथि ट्रम्पको सीधा प्रहार, भारतीय व्यापार नीतिको कडा आलोचना

बिआरटीनेपाल २०७५ फागुन २१ गते ५:१५ मा प्रकाशित

अमेरिकाले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको आलोचना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले भारतबाट आउने करोडौं डलरको ‘ड्यूटी फ्री’ सामानमा रोक लगाउने घोषणासमेत गर्नुभएको छ । यसबाट छिमेकी पाकिस्तानसँग तनावमा परेका भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीलाई झट्का लाग्ने देखिएको छ ।

आसन्न संसदीय निर्वाचनमा चौतर्फी घेराबन्दीमा परेका मोदीलाई ट्रम्पको भनाइले थप संकटमा पार्ने देखिएको छ । उहाँका विपक्षीलाई भने मसला मिल्ने देखिन्छ । भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै राष्ट्रपति ट्रम्पले भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा पनि रोक लगाउने घोषणा गर्नुभएको हो ।

अमेरिकी कंग्रेसलाई लेखेको पत्रमा ट्रम्पले भन्नुभएको छ , ‘भारत सरकारसँग धेरै लामो कुराकानीपछि म यो कदम उठाइरहेको छु । किनकि, भारतले अहिलेसम्म अमेरिकालाई आफ्नो बजारमा सहज पहुँच दिने आश्वासन दिएको छैन ।’

सन् १९७० मा बनाइएको विशेष आयात नीतिअन्तर्गत् अमेरिकाले भारत र टर्कीलाई विकासशील देशकारुपमा विशेष मान्यता दिएको थियो । यस नीतिअनुसार भारतको ५.६ अर्ब डलरको सामान अमेरिकी बजारमा बिनाआयात शुल्क प्रवेश भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । जबकि, अमेरिकाबाट आयात हुने सामानमा भारतले अत्यधिक आयात शुल्क लगाउँदै आएको भन्दै ट्रम्पले असन्तुष्टि जनाउनुभएको हो । ‘भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई न्यायसंगत र उचित पहुँच दिनुपर्छ । तर, भारतले दिएको छैन’–ट्रम्पको पत्रमा उलेख छ ।

ट्रम्पको प्रस्ताव कंग्रेसले पारित गरेमा ६० दिनपछि लागू हुनेछ । यसबाट भारतीय वैदेशिक व्यापारमा ठूलो धक्का पुग्ने बताइएको छ । यद्यपि, भारतीय वाणिज्य मन्त्रालयका सचिव अनुप धवनले अमेरिकाको विशेष ग्राह्यता हट्दैमा भारतीय अर्थ व्यवस्थामा ठूलो असर नपर्ने दाबी गर्नुभएको छ । यो नीतिबाट १९ करोड डलरसम्ममात्रै हानि हुने उहाँको भनाइ छ ।

केही अमेरिकी उत्पादनलाई भारतीय बजारमा सशर्त पहुँच दिन तयार रहेको भन्दै धवनले तिनमा अमेरिकी कृषि तथा डेरीसँग सम्बन्धित सामान बताउनुभयो । आइटी र मेडिकल उत्पादनमा पनि भन्सार घटाउन तयार रहेपनि समझदारी भने बनिनसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू