अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 11:35

लभ स्टेसनको फस्ट लुक्समा प्रदीप र जसिताको प्रेम

बिआरटीनेपाल २०७५ फागुन १७ गते ११:५३ मा प्रकाशित

काठमाडौँ, चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनीत चलचित्र ‘लभ स्टेसन’ नयाँ वर्षको अवसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ ।

साङ्गीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दै फस्ट लुक्सको रूपमा यसको पोस्टर शुक्रवार रिलिज गरिएको छ । ‘क्यारेक्टर इन्ट्रोडक्सन’ युक्त दुई पोस्टर, सिक्छ सिटर २ पोस्टर र ३० बाई ४० को तीन पोस्टर सहित जम्मा सात ओटा पोस्टर रिलिज गरिएको हो । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा यो चलचित्रको पोस्टर सार्वजनिक गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

रिलिज गरिएको पोस्टर मध्य दुई पोस्टर पिङसँग छ । अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङ मार्फत एउटा पोस्टरमा दर्साइएको छ । अभिनेत्री जसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोस्टरमा उनी पिङमा रमाएकी छिन् । यस्तै अभिनेता प्रदीपको ‘क्यारेक्टर क्यारेक्टर इन्ट्रोडक्सन’ पोस्टरमा उनलाई गिटारको साथ प्रस्तुत गरिएको छ ।

सबै पोस्टरको डिजाइन आनन्द महर्जनले गरेका हुन् । लभ स्टेसनको अहिले चर्चामा रहेको तथा भियतनाम र बालीको खिचिएको गीत जुन तारा चाहिँदैन…को एक सुन्दर दृश्यलाई पनि दुई पोस्टरमा समेटिएको छ । जसमा समुन्द्र किनारमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमाञ्चकारी भावलाई समेटिएको छ । यस्तै बाँकी दुई पोस्टरमा अभिनेता प्रदीप र अभिनेत्री जसितालाई मिठो अङ्कमालमा देखाइएको छ । यो पोस्टरले यी दुईको प्रेम सम्बन्धलाई अझ प्रगाढ देखाएको छ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेसन साङ्गीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेसनमा आफ्नो काम केही पृथक् रहेको बताएका छन् ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू