अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 03:36

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि उत्तर कोरियाली नेता किम भियतनाममा

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:२९ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुग्नुभएको छ । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे स्टेसनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेलबाट ओलिएपछि किमले आफ्नो स्वागतमा आएकाहरुलाई अभिवादन गरेर कारमार्फत् गन्तव्यतर्फ हनोइसम्मको यात्रा गर्नुभएको थियो ।

किम ओर्लिएको रेलवे स्टेसनबाट राजधानी हनोइ १०५ माइलको दूरीमा छ । नेता किमका साथमा उहाँकी बहिनी किम यो जोङ र प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि सहभागी हुनुहुन्छ । किम गत शनिबार रेलमार्ग हुँदै भियतनाम प्रस्थान गर्नुभएको थियो । उहाँ चीन हुँदै भियतनाम जानुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच भोलिदेखि दोस्रो ऐतिहासिक वार्ता हुँदै छ । बिहीबारसम्म हुने वार्ताको तयारी पूरा भएको बताइएको छ । दुई नेताबीच गत वर्षको जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक भेटवार्ता भएको थियो । त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो । भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू