अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 21:41

महापुराणको लागि पण्डित दिनबन्धु पोखरेल भर्जिनिया आउने

बिआरटीनेपाल २०७५ फागुन १२ गते ९:२५ मा प्रकाशित

विजय थापा, ख्याति प्राप्त वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल अमेरिकाको भर्जिनिया आउनु हुने भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्ने उद्देश्य सहित सप्ताह महापुराणको आयोजना गर्ने भएकोले पण्डित पोखरेललाई बोलाइएको छ । 

आगामी जुन २२ देखि जुन २९ सम्म भर्जिनियाको फेयरफ्याक्समा हुने उक्त पुराणमा वहाँलाई डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिले अग्रिम रूपमा पहल गरी बोलाएको हो ।

गत फेब्रुअरी २३ शनिवारका दिन डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिले आयोजना गरेको नगर भवन बैठकमा सप्ताह महापुराणको लागि पण्डित दिनबन्धु पोखरेललाई दिने दक्षिणा समेत तोकेको छ र बैठकमा सर्वसम्मति बाट पारित गरेको छ ।

उक्त नगर भवन बैठकले भर्जिनिया सेन्टरभिल सहरमा बस्दै आउनु भएका डिसी नेपाली समाजका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता अरुण रुपाखेतीलाई सप्ताह महापुराणको संयोजकमा छनौट गरेको छ ।

यसै गरी अमेरिका ५३ वर्ष अगाडी अमेरिका आई हाल भर्जिनिया बस्दै आउनु भएका सामाजिक अभियन्ता डा विष्णु पौडेललाई मुख्य सल्लाहकारमा चुनेको छ ।

उक्त बैठकले विधान पारित गर्नुको साथै आगामी महा पुराण पश्च्यात बनिने सामुदायिक भवनको नाम नेपाली अमेरिकन कम्युनिटी सेन्टर (एनएसीएस) राखेको छ । उक्त नाम बिधुतिय मतदान प्रणाली बाट गरिएको परिणामबाट गरिएको हो ।

डिसी महानगर क्षेत्र सेन्टरभिल सहरका सामाजिक अभियन्ता ददिराम ढुङ्गानाले सामुदायिक भवनको अवधारणा बारे पुन सङ्क्षेपमा व्याख्या गर्नुको साथै कार्यक्रम सञ्चालन गर्नु भएको थियो । पहिलो पटक बसेको नगर भवन बैठकमा ढुङ्गानाले विस्तृत रूपमा महा पुराण बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सप्ताह महा पुराणको लागि १००१ महा पुराण मूल समारोह समिति बन्ने क्रम जारी छ भने हाल सम्म ६ सय ४४ सदस्यहरू मूल समारोह समितिमा संलग्न भई सकेका छन् । उक्त बैठकमा विभिन्न समितिहरूले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गत २० वर्ष देखि भर्जिनियामा सामुदायिक भवन तथा मन्दिर बनाउने पटक पटक प्रयास भएता पनि सबै चर्चा र छलफलमा मात्र सीमित भएका थिए । तर यस पटकको यो पहल निकै अगाडी पुगेको छ भने यस भेकका सबै सामाजिक अभियन्ताहरू स्वतः स्फूर्त रूपमा संलग्न भएका छन् । समुदाय सदस्यहरू जोस, जाँगर उत्साह सहित महापुराणको लागि संलग्नता देखाई रहेका छन् ।

विशेष गरी अमेरिकामा जन्मेका तथा दोस्रो पुस्ताका युवाहरू आफै संलग्नता देखाएका छन् । बैठक मा सामाजिक अभियन्ता सागर कँडेलले स्वागत गरेका थिए भने अन्य सामाजिक अभियन्ता तथा विभिन्न समितिका प्रतिनिधिहरू क्रमशः गोपाल रेग्मी, पण्डित राजेन्द्र खनाल, अरुण रुपा खेती, युवाको तर्फबाट अर्जुन पौडेल केशव बराल, सञ्चारकर्मी गुणराज लुइँटेल, युवाको तर्फबाट अनजान अधिकारी, गोविन्द सुबेदी, प्रेम संग्रौला लगायत आदिले आआफ्ना प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

करिब ३ घण्टा सम्म चलेको उक्त बैठकमा सप्ताह महापुराण सम्बन्धी व्यापक मस्तिष्क मन्थन गरिएको थियो भने केही उपस्थित सहभागीहरूले संस्थापक सदस्य बन्ने घोषणा समेत गरेका थिए ।

कार्यक्रममा भर्जिनियाको विनचेस्टरबाट आउनु भएका चिकित्सक गुणराज सुबेदी, ऋषि बराल, भरत रेग्मी, सुमन राज तिम्सिना, चन्द्र लामा, ठाकुर ढकाल, एएनएचएसका अध्यक्ष कमला खरेल, एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, चिकित्सक मदन उप्रेती लगायत थुप्रै सामाजिक अभियन्ताहरूले रचनात्मक सुझाव साथै सल्लाह दिएका थिए ।

कार्यक्रमको अन्त्यमा ददिराम ढुङ्गानाले यस क्षेत्रमा बसोबास गर्नु हुने वृद्ध, युवा, बालबालिका, महिला, पुरुष, व्यवसायी, कुनै पनि पेसामा संलग्न पुरुष तथा महिला तथा जुन सुकै उमेरका सबै नेपाली समुदायका सदस्यलाई यस महान् पुन्य कार्यमा सहभागिता तथा संलग्न हुन् आव्हान गर्नु भएको छ । 

प्रतिक्रिया