
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा र बर्तमान सरकारलाई भत्काउन केही प्रतिक्रियावादी शक्तिहरु लागि परेको बताउनुभएको छ । जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्वाराहीमा बुधवार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ र मौलिक ढंगले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढेको सामन्ती तथा प्रतिक्रियावादी शक्तिहरुलाई चित्त नबुझेको उल्लेख गर्दै त्यस्ता शक्ति नेकपालाई भत्काउन लागिपरेकोले सचेत र सतर्क हुनुपर्ने बताउनुभयो । प्रतिक्रियावादी शक्तिहरुको मुुख्य तारो वर्तमान सरकार र नेकपा रहेको उहाको भनाई थियो ।
संसारमा कम्युनिष्टहरु रक्षात्मक भएका बेला नेपालमा लोकतान्त्रिक ढंगले आक्रामक भएको दावी गर्दै अध्यक्ष प्रचण्डले षड्यन्त्र गरेर यो पार्टीलाई कमजोर पार्ने अभ्यास भइरहेको बताउनुभयो । प्रतिक्रियावादी शक्तिका बिरुद्ध पार्टीले वैचारिक, राजनीतिक र सांस्कृतिक रुपमा एक भएर जाने संकल्प गर्नुपर्ने प्रचण्डको भनाई थियो । प्रचण्डले जनताको आन्दोलनको बलमा बनेको पार्टीलाई एकढिक्का राख्न सवैले संकल्प गर्नुपर्ने आबश्यकता समेत औंल्याउनुभयो । सहिद तथा सहिद परिवारप्रति सम्मान प्रकट गर्दै नेपालमा युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरेर र राजनीतिक धु्रवीकरणलाई पनि नयाँ तरङ्गमा पुर्याएर पार्टी एक भएपछि पहिलो पटक भएको कार्यक्रम आफैँमा अर्थपूर्ण भएको प्रचण्डले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले विगत तीन दशकको अवधिमा नेपालमा दुई कम्युनिष्ट धाराको जन्म भएको भन्दै एकले शान्तिपूर्ण संसदीय अभ्यास र अर्कोले जनयुद्धका रुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रयोग भएको स्मरण गर्नुभयो । विगतमा कम्युनिष्ट आन्दोलनका क्रममा यी दुई धाराले एकले अर्कोलाई समाप्त पार्ने प्रयासहरु समेत भएको भन्दै उहाँले वस्तुगत आवाश्यकताले दुवै धाराको निष्कर्षका साथ शान्ति सम्झौता,संविधान निर्माणतर्फ डोहोर्याएको उल्लेख गर्नुभयो । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रुपले मुलुकलाई अघि बढाउने लोकप्रिय नेतालाई सम्झेर गर्व गर्नुपर्ने प्रचण्डको भनाई थियो ।
नेकपा र वर्तमान सरकार समाजवाद उन्मुख राज्यनिर्माण गर्नेतर्फ उन्मुख भएको दावी गर्दै अध्यक्ष प्रचण्डले विगतका क्रान्तिका लेखाजोखा गरेर समाजवाद उन्मुख नयाँ मोडेल प्रस्तुत गर्ने आफूहरुको तयारी रहेको बताउनुभयो । संसारका सवैखाले शक्तिहरुले नेपालबारे तिखो आँखाले हेर्नुपर्ने अवस्था सिर्जना गरेकोमा गौरव लागेको पनि उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै पार्टी महासचिव विष्णु पौडेलले जनआन्दोलन र जनयुद्धका माध्यमबाट आजको परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले जनआन्दोलन र जनयुद्धको माध्यमबाट मुलुकमा आज समाबेशी संविधान निर्माण भएको तथा असमानता र विभेदलाई हटाउने प्रयासमा लागेको उल्लेख गर्नुभयो ।
तत्कालीन माओवादीले गरेको जनयुद्धको सम्झनामा नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा “जनआन्दोलन र जनयुद्धका महान सहिदहरुप्रति श्रद्धान्जली” नाम दिएको उक्त कार्यक्रममा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष प्रचण्डसहित महासचिव विषणु पौडेल र बामदेव गौतम कार्यक्रममा सहभागी बनेपनि अध्यक्ष केपी ओली सहित, नेताहरु माधव नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल लगायतका नेताहरु कार्यक्रममा सहभागी हुनुभएन ।