अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 21:03

सिरिया र इराक एक हप्ताभित्रै इस्लामिक स्टेटबाट मुक्त हुने राष्ट्रपति ट्रम्पको दावी

बिआरटीनेपाल २०७५ माघ २४ गते ५:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने बताउनुभयो । उहाँले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरिएको भन्दै युद्धको मैदानमा विजयी भएको जिकिर गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफुहरुले जितपछि जित हासिल गरिरहेको स्पष्ट पार्नुभयोे । उहाँले दुई महिना पहिले सिरियामा जिहादीहरुलाई हराएको भन्दै त्यहाँबाट अमेरिकी सेनालाई फर्काउने घोषणा यसअघि नै गरिसक्नुभएको छ । बासिंटनमा अमेरिकाले अगुवाइ गरेको गठबन्धनको बैठकमा राष्ट्रपति ट्रम्पले सिरियामा अब आइएसको केवल अवशेषमात्र बाँकी रहेको दावी गर्नुभएको हो ।

यसअघि बैठकमा बोल्दै विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाए पनि आइएसविरुद्धको लडाईँ जारी राख्ने बताउनुभएको थियो । उहाँले आइएसको कब्जाबाट फुत्काइएका इलाकाको पुनर्निर्माणका लागि सहयोग रकम जुटाउन पनि आह्वान गर्नुभयो ।

आइएसविरुद्ध करिब ८० देशले मोर्चाबन्दी गरेका छन् । यो गठबन्धन सन् २०१४ देखि आइएसविरुद्ध लडिरहेको छ । राष्ट्रपति ट्रम्पले गठबन्धन सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी कयौं बर्षसम्म मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू