अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञप्ति नेकपाद्वारा अनुमोदन, सार्वभौम देशमाथिको हस्तक्षेप अस्वीकार्य रहेको निष्कर्ष

बिआरटीनेपाल २०७५ माघ २१ गते ३:४२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भेनेजुएला प्रकरणमा सरकार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्ति अनुमोदन गरेको छ । भेनेजुएला प्रकरणमा सरकार र नेकपाको राय बाझिएको समाचार बाहिर आइरहेको समयमा नेकपाले कुनै सार्वभौम देशमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध छ, हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने ठहर गरेको छ,” प्रवक्ता श्रेष्ठले भन्नुभयो । प्रवक्ता श्रेष्ठले विदेश नीतिको सम्बन्धमा पार्टीभित्र कुनै अन्यौल नभएको दाबी समेत गर्नुभएको छ । कुनै सार्वभौम देशमा समस्या पैदा भएमा त्यस देशका जनताले शान्तिपूर्ण ढंगले समाधान गर्न पाउने उसको अधिकारमा अरूले हस्तक्षेप गर्न नपाउने उहाँको भनाई थियो ।

भेनेजुएला प्रकरणमा प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका र नेपाल सम्बन्धमा चिसोपना आएको विश्लेषण हुँदै आएको छ । सोमवारको सचिवालय बैठकमा अधिकांश समय भेनेजुएला प्रकरणबारे छलफल भएको थियो ।

भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते विज्ञप्ति जारी गर्नुभएको थियो । उहाँले अमेरिकाले भेनेजुएलामा गरेको हस्तक्षेपको कडा शब्दमा निन्दा गर्नुभएको थियो । प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले भेनेजुएला प्रकरणमा नेपाल सरकारको आधिकारिक धारणा मागेको थियो । परराष्ट्र मन्त्रालयले कूटनीतिक भाषामा तर प्रचण्डकै भावमा वक्तव्य जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय