बेलायती गोरखा सैनिक देवेन्द्र आले मगर बेलायती सेनाको उच्च अधिकृतमा बढुवा हुनुभएको छ । हाल ११ ’इन्फेन्ट्री’ बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेलाई बिहीबार बसेको छनोट बोर्डले बढुवा गरेको हो । उहाँ बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेन्ट कर्णेल पदमा पुग्नुभएको हो ।
बेलायती सेनामा ३० वर्षदेखि कार्यरत देवेन्द्र उच्च पदमा पुग्ने पाँचौ नेपाली बन्नुभएको छ । गोरखा भर्तिको २०० वर्षभन्दा लामो इतिहासमा लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा उक्त पदमा यसअघि पुगिसक्नुभएको छ । जसमध्ये खाम्चा मात्र सेवारत हुनुहुन्छ भने अरू सबै सेवानिवृत्त भइसकेका छन् ।
देवेन्द्रले बेलायती सेनामा कार्यरत रहेका करिब २०० जना मेजरहरूलाई पछि पार्दै बढुवा हुनुभएको हो । उहाँले नयाँ जिम्मेवारी अर्को वर्षबाट शुरु गर्ने बताइएको छ । करिब तीन वर्ष लेफ्टिनेन्ट कर्णेल पदमा कार्य गरेपछि उहाँ रिटायर्ड हुनुहुनेछ । योभन्दा माथि आफू जाने सम्भावना भने नरहेको आलेमगरको भनाई छ ।
स्याङ्जाको बहाकोट, भञ्ज्याङ पुर्ख्यौली घर भएका आलेका पिता क्याप्टेन मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिक हुनुहुन्थ्यो । आले पिता सिंगापुरमा रहेका बेला जन्मनुभएको थियो । उहाको पढाई भने हंकङ र नेपालमा भएको थियो । आले त्रिचन्द्र कलेजमा बिएस्सी पढ्दापढ्दै बेलायती सेनामा भर्ती हुनुभएको थियो । २२ वर्षको उमेरमा ब्रिटिश सेनाको क्लर्कमा भर्ति भएर उहाँले सैन्य जीवन सुरुवात गर्नुभएको थियो ।उहाँ अहिले श्रीमती दुर्गा आले र दुई छोराका साथ आले अल्डरसटमा बस्दै आउनुभएको छ ।