अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 02:52

नेउवा महासंघ/कृषि उद्यम केन्द्र र प्रदेश ३ सरकार बिच सहमतिपत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ माघ १८ गते १२:१३ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घ/कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. ३ बिच आज हेटौंडामा एक समझदारीपत्र (Memorandum of Understanding-MoU) मा हस्ताक्षर भएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष प्राप्त गर्न निजी क्षेत्रसँगएको सहकार्यलाई प्राथमिकताका साथ सम्बोधन गरिएको हुँदा निजी क्षेत्रको छाता सँस्थान नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकार प्रदेश नं. ३ ले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रमहरूमा बहुवर्षीय साझेदारी गर्ने उद्देश्यले यो सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । 

प्रदेश सरकारसँग विभिन्न कार्यक्रम मार्फत सार्वजनिक निजी साझेदारीको प्रारूपमा सहकार्य/साझेदारी गर्न एक सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ मूल निर्देशिकाको रूपमा तयार गरी सोको आधारमा आवश्यकता अनुसार कार्यक्रमगत कार्यविधिहरू तयार गरी सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यलाई मूर्तरूप दिन यो समझदारीपत्र ऐतिहासिक साबित हुनेछ ।

समझदारी पत्रमा प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको समुपस्थितिमा प्रदेश ३ सरकारका आर्थिक, मामला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल र महासङ्घका अध्यक्ष भवानी राणाले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा प्रदेश सरकारका उच्चस्तरीय अधिकारीहरू र महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू हेमराज ढकाल, प्रकाशसिंह कार्की र डीबी बस्नेतको उपस्थिति रहेको थियो ।

सहमति अनुसार प्रदेश सरकारका तर्फबाट सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ र सोको आधारमा कार्यक्रमगत आवश्यक कार्यविधिहरू तयार गर्ने गराउने, अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार समयमै ने.उ.वा. महासङ्घ/कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा बजेट निकासा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मूल्याङ्कन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने र कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ ।

त्यसै गरी महासङ्घ/कृषि उद्यम केन्द्रको तर्फबाट वार्षिक कार्यक्रम बजेट तर्जुमा गरी प्रदेश सरकार समक्ष स्वीकृतिको लागि पेस गर्ने, स्वीकृत भैसकेका कार्यक्रमको हकमा आवश्यक कार्यविधि तयार गरी स्वीकृतिका लागि प्रदेश सरकारमा पेस गर्ने, प्रदेश सरकारबाट विनियोजित बजेट कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा समयमानै निकासा पठाउने, प्रदेश सरकारबाट स्वीकृत सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ अनुसार कार्यक्रम सञ्चालन तथा अनुगमन गरी प्रगति विवरण प्रदेश सरकारको सम्बन्धित निकायमा पेस गर्ने लगायत रहेको छ ।

हस्ताक्षर भएको दिन देखिनै प्रभावकारी हुने उक्त सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रदेश सरकार र महासङ्घका तर्फबाट प्रदेशको आर्थिक विकासमा सरकार र निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारी अनुरूप अगाडी बढाउन यो सहमति कोशेढुंगा हुने विश्वास सहित सहमतिपत्रमा उल्लिखित बुँदाहरूलाई आ–आफ्ना तर्फबाट अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू