अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा स्वदेश फर्किइन्

बिआरटीनेपाल २०७५ माघ १६ गते २२:४१ मा प्रकाशित

काठमाडौँ, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बुधवार स्वदेश फर्केकी छन् । उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करी तथा श्रम शोषण गरेको आरोप लगाएपछि उनी विवादमा तानिएकी थीइन । कूटनीतिक मर्यादा विपरीतको गतिविधिमा संलग्न रहेको आरोप लागेपछि शेर्पा राजीनामा बुझाएर दुई साता अघि अस्ट्रेलिया पुगेकी थिइन । सरकारले आफ्नो पारिवारिक व्यवस्थापन मिलाउन दुई साताको समय तोकेपछि शेर्पा परिवारसहित बुधवार स्वदेश फर्किएकी हुन ।

उहाँलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको बताइए पनि परराष्ट्र मन्त्रालयले कुनै निर्णय नभएको बताउँदै आएको छ । शेर्पालाई राजीनामा गर्न सुझाइएको यसअघि नै सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले सञ्चारकर्मीहरूसँग बताइसकेका छन् । शेर्पाले आफूविरुद्धको समाचार र राजीनामा झुटो भएको खण्डन गर्दै आएकी थीइन । राजदूत लक्की शेर्पाबारे छानबिन गर्न गठित समितिले उनलाई राजदूतमा निरन्तरता दिन नहुने निष्कर्ष सहितको प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले सोही निर्णयलाई निरन्तरता दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराई, अस्ट्रेलिया महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी संलग्न छानबिन टोलीले अध्ययन प्रतिवेदन तयार गरेको थियो । राजदूत शेर्पामाथि उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करी तथा श्रम शोषण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए । वाङ्छुले राजदूत शेर्पा र उहाँका श्रीमान् न्वा· सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको किटानी दिएपछि शेर्पा विवादमा तानिएकी थिइन ।

सवारी चालक वाङ्छुको राजदूत शेर्पाका श्रीमानले आफूसँग करिब ३३ लाख रुपियाँ लिएर अस्ट्रेलिया लगेको तथा अन्य केहीलाई लाने पहल गर्ने भन्दै रकम उठाइएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय