भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनशन सुरु गर्नुभएको छ । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उहाँले अनशन थाल्नुभएको हो ।
भ्रष्टाचारविरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै हजारेले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गर्नुभएको छ । “कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ । त्यसैगरी, लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेशसभाका सांसदहरुलाई पनि छानबिन गर्नसक्छ”–आफ्नै गाउँमा अनशन सुरु गर्नुअघि हजारेले भन्नुभयो । आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उहाको आरोप छ । हजारेले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको उल्लेख गर्नुभयो ।
लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्थाअनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनशनमा बस्नुपरेको उहाँको भनाइ छ । भारतमा सहिद दिवसका रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनशन सुरु गरेको हजारेको भनाई छ ।