अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 13:06

स्वतन्त्रता शतवार्षिकी समारोह संयुक्तरुपमा मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:३६ मा प्रकाशित

कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरियासमक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेशविरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ ।

स्थानीय सन्चारमाध्यमहरुले मंगलबार लेखेको समाचारअनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्तरुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो । दक्षिण कोरियाली अधिकारीहरुले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो । देशव्यापी स्वतन्त्रता आन्दोलनकाक्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजारभन्दा बढी गिरफ्तार भएका थिए । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्तरुपमा शतवार्षिक समारोह मनाउने सहमति गर्नुभएको थियो ।

उत्तरको राजधानी प्योङयाङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्तरुपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा दुवै कोरियाले एकै दिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू