आफ्नो एउटा घर बनाउनु हरेक मानिसको सपना हुदोरहेछ। त्यो स्वाभाविक पनि हो । तर घर बनाएपछि आर्थिक अभावको दुख: सुरु हुदोरहेछ ।त्यो यथार्थ मैले ४५/४६ वर्षको उमेरमा आएर अनुभव गरे !
सरकारी जागिरको माध्यमबाट विदेश भ्रमणहरूको अवसरमा बचाएर ल्याएको पैसाले भक्तपुरमा एउटा सानो घडेरी जोडेको थिए ।चार जनाको परिवारको लालनपालन सामान्य जागिरको एक्लो कमाइले काठमाण्डौको मंहगाईमा घर बनाउने पैसा जुटाउन सकिरहेको थिइन् ।सरसापट लिएर घर बनाउने आँट ममा थिएन । सापट मागी हाल्दा पनि कसैले पत्याइहाल्ने आफ्नो हैसियत थिएन । आफूसँगको बचतले घर बनाउन सुरु गर्न समेत सम्भव थिएन । यथार्थमा आफूसँग पर्याप्त पैसा नभई म घर बनाउने मुडमा नै थिइन ।
डेराको बसाइको पिडाले श्रीमतीले घर बनाउन कचकच नगरेकी होइनन् । बाल सुलभ छोराहरूले बुबा हाम्रो घर कहिले हुन्छ भन्ने नगरेका पनि होइन । अनि आफन्त र साथीभाइले घर बनाउनु पर्दैन भनेर नघचघचाएका पनि होइन । तर श्रीमतीको गनगन, छोराहरूको चाहाना र इष्टमित्रहरूको घचघचाईले मात्र घर वन्दोरहेनछ ! घर बनाउन मूल कुरो त पैसै चाहियो । जुन म जुटाउन सकिरहेको थिइन ।
सरकारी जागिरकै बदौलत ४ वर्ष विदेशमा बसेर काम गर्ने अवसर जुटो मलाई । सरकारी सेवा भएका कारण खान र लाउन बाहेक अरू कुनै खर्च आफ्नो तलब र भत्ताबाट गर्नु पर्दैन थियो । सेवा पुरा गरेर स्वदेश फर्कँदा मसँग मेरो आवश्यकताको घर बनाउन पुग्ने पैसा बचाउन सफल भएको थिए ।
स्वदेश फर्केको केही समय पछि नै मैले घर बनाउन थाले ।हामी नेपाली पैसा भए सम्म छिमेकीको घरको उचाइ हेरेर पिलर ठड्याउदै जान्छौ । घर फ़िनिशिङग गर्ने वेलामा हामीसँग पैसा सकिँदै जान्छ ।त्यस वेला ढिलो भइसकेको हुन्छ । अनि या त सर सापटी तिर लाग्दछौ या त पुरा नभएको घरमा बसेर जीवनभर त्यही पुरा गर्ने कसरतमा विताउछौ ।त्यो नेपाली मानसिकता मेरा इष्टमित्रको घर निर्माणको क्रममा नजिकबाट निहाल्न्ने अवसर पाएको थिए ।
त्यसैले म मेरो घर मसँग भएको पैसामा सक्ने हिसाबले मात्र गर्न चाहन्थे र त्यही हिसाबको कार्ययोजन अनुसार बनाउँदै थिए । तर आफ्नो विचार र इच्छा अनुसार मात्र बनाउन सकिँदो रहेनछ । श्रीमानको हैसियत भन्दा अरूका कुरा सुनेर घर निर्माणमा अतिरिक्त खर्च गराउन पाए कसका श्रीमती दङ्ग नपर्ला र ! यसबाट म पनि किन अछुतो रहन सक्थे र । बल्ल बल्ल बनाउन लागेको घर बिसौँ वर्ष देखि सहयात्रामा रहेकी जीवनसंगिनीको चित्त नबुझाई किन सकिन्थ्यो र !
यी र यस्तै अरू पनि कारणहरूले गर्दा घर त पुरा भयो तर अतिरिक्त पैसाको जोहो गर्नु पर्यो ।जसले मलाई केही संस्थागत सापटी लिन बाध्य बनायो ।
अब मसँग जागिरबाट आउने नियमित तलब बाहेक आयको अर्को कुनै श्रोत र बचत पनि थिएन । जेठो छोरो कलेज पड्न सुरु गरेको थियो ।कान्छो छोरो स्कुलको अन्तिम वर्ष तिर थियो । दुवैको उच्चशिक्षाको लागि लाग्ने खर्च जुटाउन विकल्पहरूको खोजी विदेशबाट फर्के देखि नै नगरेको पनि होइन तर मेरो आवश्यकता अनुसारको आयस्रोतको व्यवस्थापन गर्न सकिरहेको थिइन !
अमेरिका सुनेको तथा पडेको पनि थिए ।ताना शर्माको “पाताल प्रवास “ पडेर रोमान्चित भएको पनि थिए ।तर अमेरिका हामी जस्ताको जाने ठाउँ हो भन्ने भेउ पाउन सकेको थिइन ।
सन् १९९७ तिर मेरो कान्छो भाइ पड्न अमेरिका तिर आयो । केही समय पछि उसका परिवार पनि आए । त्यसको केही समय पछि देखि भाइले अमेरिका आउन भनिरह्यो । तर म तयार भइरहेको थिइन । सन् २००० मा उसको पढाई पुरा भएको दीक्षान्त समारोहमा भाग लिन मलाई बोलायो । म करिब ६ महिना बसेर केही काम पनि गरेर फर्किए । भाइका साथीहरू यतै बस्न जोड दिँदै थिए तर म परिवार र मेरो सरकारी जागिर छोडेर बस्न तयार भइन । त्यस पछि पनि सन् २००१ मा ३ महिना र २००२ मा ७ दिनको भ्रमण गरी फर्केको थिए ।
मानसपटलमा जागिरको उत्तरार्द्ध तिर केही समय अमेरिका बस्नु पर्ला भन्ने सोच बनाएको थिए । तर किन र कहिले भन्ने टुङ्गोमा पुगेको थिइन ।
लगभग एक वर्षको खोजाइमा पनि भनेजस्तो अतिरिक्त आयस्रोतको काम पाई रहेको थिइन ।
त्यसपछि श्रीमतीलाई भने ,
म अब अमेरिका जान्छु केही वर्ष बसेर केही पैसा बनाएर आउँछु ।
तर श्रीमती तयार भइनन् ।
मैले भने,
त्यसो भए मेरो जागिरको मासिक तलब सबै तिमीलाई दिन्छु । मलाई पकेट खर्च पनि चाहिएन । त्यसले तिमी घर खर्च, छोराहरूको कलेज र स्कुलको खर्च, बच्चाहरूको पकेट मनी र तिम्रो फुर्माईस खर्च पुर्याउ ।
त्यति पैसाले ती सबै खर्च कसरी पुर्याउन सकिन्छ ? म सक्दिन ।
त्यसो भए उपाय के त ? मेरो कमाई त्यत्ति हो । तिमी अमेरिका जान दिँदैनौ ! मसँग अरू विकल्प छैन ।
त्यसो भए एक वर्षमा फर्कने गरी गईस्योस ।
एक वर्षले त कसरी होला र ! म ३ वर्षको लागि जान्छु ।त्यतिन्जेलमा ठुलो छोराको कलेज पनि सकिन्छ । त्यसपछि उसले पनि कमाउन थाल्ला । त्यसो भएपछि घर चलाउन र कान्छो छोरालाई कलेज पडाउन सकिहालिन्छ ।
हुँदै हुँदैन । १ वर्षलाई जाने भा जाईस्योस । नभए हुँदैन ।
एक वर्षको लागि गएर खासै पैसा बनाउन सकिँदैन भन्ने लाग्यो ।त्यो भन्दा बढी समयको लागि श्रीमती तयार छैन । म दुबिधामा परे ।
केही जुक्ति त निकाल्नै पर्यो । श्रीमतीसँग पुन: सल्लाह गरे । लौ म एक वर्षलाई नै जान्छु तर केही गरी सोचे जस्तो काम समयमा पाउन नसकेर सोचे जति पैसा बनाउन सकिएन भने चैँ ६ महिना बढी बस्छु है त ! श्रीमतीले सहमति जनाई ।
तर म भने कम्तीमा ३ वर्ष नै बस्ने मानसिकताका साथ अमेरिका प्रस्थान गरे ।
मेरो अमेरिका प्रस्थान श्रीमतीको लागि एक वर्षको थियो भने मेरो लागि ३ वर्ष । तर अमेरिकामा भएको मेरो भाइ मलाई नेपाल फर्कन नदिई यही राख्ने सोचमा रहेछ ।
उसका कुरा सुनेपछि मैले भने परिवार छोडेर त म तीन वर्ष भन्दा बढी बस्न सक्दिन ।
परिवार पनि ल्याउने प्रक्रिया मिलाउने जिम्मा मेरो भयो । तपाईँ अमेरिका बस्न तयार मात्र हुनुस् ।
अमेरिका प्रवेश गरेको करिब दुई वर्ष पछि मलाई आवासीय सुविधा प्राप्त भयो । त्यसको दुई वर्ष पछि मेरो सम्पूर्ण परिवार पनि अमेरिका आए ।
यसरी विगत १०/११ वर्ष देखि म परिवार सहित अमेरिकामा बसिरहेछु ।
अब हिजोको परिस्थिति फेरिएको छ । दुवै छोरा गरिखाने भैसकेका छन् । आर्थिक तथा सामाजिक रूपमा कुनै जिम्मेवारी बाँकी छैन । त्यसैले अब नेपाल फर्कने सोच बन्न थालेको छ ।
तर समस्या उही । हिजो श्रीमती मलाई अमेरिका पठाउन तयार थिइन । उनी स्वयम् पनि बढो मुस्किलले अमेरिका आएकी थिइन । आज नत मलाई नेपाल फर्कन दिन्छिन् । नत आफू फर्कन तयार छिन् ।