अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 03:59

सातौं वालिङ महोत्सवको तयारी पुरा, उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:२६ मा प्रकाशित

स्याङजा जिल्लाको वालिङमा हुने सातौं वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक वालिङ उद्योग बाणिज्य संघले पोखरामा पत्रकार सम्मेलन गरी यहि माघ १७ देखि २८ गते सम्म हुने महोत्सवको तयारीबारे जानकारी गराएको हो । महोत्सवका संयोजक एवं वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले महोत्सवले ब्यापार ब्यवसाय, उद्योग उत्पादनको प्रवद्र्धन गर्ने अपेक्षा राखिएको जानकारी दिनुभयो । महोत्सवले पर्यटकीय धार्मिक र सांस्कृतिक रुपमा पनि प्रचार प्रसारमा टेवा पुग्ने उहाँको भनाई छ ।

महोत्सव स्थलामा ३ सय ५० वटा स्टल रहने र स्टल बुकिङ भइसकेको पौडेलले जानकारी दिनुभयो । महोत्सवको उदघाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले गर्ने आयोजकले जनाएको छ । वालिङ उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष एवं महोत्सवका निर्देशक पुन्यप्रसाद अर्यालले महोत्सवमा १ करोड ५३ लाखको आम्दानी र खर्च ९० लाख गरि ६० लाख भन्दा बढि बचत गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । महोत्सव अवलोकनका लागि सर्वसाधरणको लागि एक सय र विद्यार्थीको लागि ७० रुपैयाको टिकट रहेको आयोजकले जनाएको छ ।
वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महोत्सव सफल पार्न नगरपालिकाको तर्फबाट पुर्ण सहयोग रहने बताउनुभयो । आफुहरु निर्बाचित भएर आएपछिको पहिलो महोत्सव भएकाले पनि महोत्सव भब्य बनाउने उहाँको भनाई थियो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले दर्शक कति आए, ब्यापार कतिभयो भन्दा पनि ब्यपार प्रवद्र्धन गर्ने कुरा मुख्य भएको बताउनुभयो ।

उहाँले आफुहरुको तर्फबाट नैतिक भौतिक रुपमा सहयोग हुने आश्वासन पनि दिनुभयो । संघका सचिव एवं प्रचार प्रसार संयोजक पदम गुरुङले वालिङ महोत्सवमा सम्पुर्ण पोखरेलीहरुलाई सहभागी हुन आग्रह पनि गर्नुभएको छ । महोत्सवको दिन प्याराग्लाइडिङ बाट पुष्पवृष्टि गराइने, महोत्सवको बेला हेलिकप्टरबाट विभिन्न धार्मिक क्षेत्रको अवलोकन गराइने साथै आँधिखोला थुनेर जलविहार समेत गराइने आयोजकले जनाएको छ । जलविहारको लागि ६० रुपैया टिकट रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू