भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । अमेरिकारले भेनेजुयलामा सरकारविरुद्धको प्रदर्शनको नेतृत्व गरेका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि मडुरोले यस्तो घोषणा गर्नुभएको हो ।
मडुरोले भेनेजुयलामा रहेका अमेरिकी कूटनीतिज्ञलाई ७२ घन्टाभित्र देश छाड्न आदेशसमेत दिनुभउको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर, अमेरिकाले भने मडुरोलाई पूर्वराष्ट्रपति भन्दै उनीसँग कुनैपनि शक्ति नरहेको जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष रहेका ३५ वर्षीय गोइदो र अमेरिका दुवैले भेनेजुयलाली सेनालाई मडुरोको साथ नदिन आग्रहसमेत गरेका छन् । तर, भेनेजुयलाको रक्षा मन्त्रालयले भने यस्तो आग्रहको निन्दा गरेको छ । ब्राजिल, कोलम्बिया, पेरुलगायतका सात दक्षिण अमेरिकी राष्ट्रले अमेरिकी कदमको स्वागत गर्दै गोइदोलाई नै भेनेजुयलाको वैधानिक राष्ट्रपतिकारुपमा समर्थन गरेका छन् ।
क्यानडाले पनि गोइदोलाई समर्थन गरेको छ । तर, युरोपेली युनियनले भने नयाँ निर्वाचन गर्नुपर्ने जनाएको छ । यता, मेक्सिको, बोेलिभिया र क्युवाले भने मडुरोलाई समर्थन गरेका छन् । बुधबारमात्र नाटकीय घटनाक्रमकाबीच मडुरोविरुद्धको विशाल प्रदर्शनमा गोइदोले आफैंलाई राष्ट्रपति घोषित गर्नुभएको थियो । केही समययता भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । बढ्दो महँगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति पलायन भएका छन् ।
यसै महिनाको सुरुमा मडुरोले राष्ट्रपतिकारुपमा आफ्नो दोस्रो कार्यकालको शपथ लिनुभएको थियो । निर्वाचनकाक्रममा उहाँमाथि धाँधलीको आरोप लाग्दै आएको छ । अमेरिकाले भेनेजुयलामाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।