बहिर्गमनका परेका माओवादी पूर्वलडाकुहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरूलाई आजकै दिन अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरूले बिहिबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा कालोपट्टी र ब्यानरसहित प्रदर्शन गरेका हुन्।
बहिर्ग्मित जनमुक्ति सेना, नेपालका अध्यक्ष सुनील लिम्बुले आफूहरूमाथि लगाइएको अयोग्यताको बिल्ला तत्काल खारेज गरी ‘गणतान्त्रिक नेपालको योद्धा’को सम्मान नदिए सरकारविरूद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ ।
बहिर्गमनमा परेका माओवादी पूर्व लडाकुहरूले सेना समायोजनमा परेका लडाकु सरह आर्थिक सहायता उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्दै आएका छन्। तत्कालीन सरकारले सेना समायोजनमा अयोग्य रहेको भन्दै माओवादीका पूर्व केही लडाकुहरूलाई सेना समायोजन हुनबाट बञ्चित गराउँदै जीविकोपार्जनका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको थियो । तर त्यो सहमति सरकारले पूरा नगरेकोमा उनीहरूको आपत्ति छ।
अध्यक्ष लिम्बुले आफूहरूसँग गरेको सहमति अब पनि पूरा नगरे काठमाडौंको सुरक्षा घेराभित्र रहेको सरकारलाई गाउँमा जाँदा ठूलो सुरक्षा चुनौती हुने चेतावनी समेत दिनुभएको छ । २०६६ साल माघ १० गते अर्थात आजकै दिन अनमिनले अयोग्य घोषित गरी ४ हजार नौ सय लडाकुलाई निकालिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै अध्यक्ष लिम्बुले आफूहरूमाथि लगाइएको अयोग्यताको बिल्ला सरकारले अब पनि नहटाए पुनः युद्धमा होमिने बताउनुभयो ।