अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 18:40

परम्परा तोड्दै भारतको सबरीमला मन्दिरमा दुई महिला प्रवेश, पुजारीद्वारा मन्दिर बन्द

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:३२ मा प्रकाशित

भारतको केरल राज्यस्थित सबरीमला मन्दिरमा बुधबार दुई महिलाले प्रवेश गर्दै वर्षौं पुरानो परम्परालाई तोडेका छन् । १० देखि ५० वर्षबीचको उमेर भएका महिलालाई प्रवेश निषेध गरिएको सो मन्दिरमा सोही उमेर समूहका दुई महिला प्रवेश गर्दै परम्परा तोडेका हुन् ।

केही अघि भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलालाई प्रवेश निषेध गर्ने परम्परा उपयुक्त नभएको भन्दै कसैलाई मन्दिर प्रवेशबाट रोक्न नहुने फैसला गरेको थियो । सोही फैसलालाई आधार बनाएर केरलका दुई महिला मन्दिरमा प्रवेश गरेको बताइन्छ ।

मुख्यमन्त्री पी विजयनले महिलाहरु मन्दिरमा प्रवेशको पुष्टि गर्नुभएको छ । उहाँले ती महिलालाई सुरक्षा उपलब्ध गराइएको पनि बताउनुभयो । स्थानीयले भने महिलालाई मन्दिरमा प्रवेश गराउने प्रयासको विरोध गर्दै आएका थिए । उनीहरुले यसअघि बारम्बार मन्दिर प्रवेशका लागि महिलाको समूहद्वारा हुँदै आएको प्रयासलाई विफल तुल्याएका थिए । बुधबार बिहानै दुई महिलाले कडा सुरक्षाबीच मन्दिर प्रवेश गरेको अधिकारीहरुको भनाइ छ ।

मन्दिरमा अयप्पाको मूर्ति छ । अयप्पा ‘ब्रम्हचारी’ भएका कारण मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको स्थानीय बताउँछन् । पौराणिक कथाअनुसार भगवान शिव र मोहिनी (विष्णु भगवानको अवतार) का पुत्रका रुपमा अयप्पाको जन्म भएको थियो । अयप्पालाई हरिहरपुत्र भनेर पनि चिनिन्छ ।

मन्दिरमा दुई महिला प्रवेश गरेलगत्तै मुख्य पुजारीले मन्दिर बन्द गरेका छन् । मन्दिर शुद्धिकरणका लागि बन्द गरिएको उनले बताएका छन् । भारतीय संचारमाध्यमका अनुसार बिन्दु र कनकदुर्गा नाम गरेका दुई महिला उक्त मन्दिर प्रवेश गरेका हुन् । उनीहरुले भगवान अयप्पाको दर्शन गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू