अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 22:52

विश्वविद्यालय सिद्धान्त घोकाउने पाठशाला मात्रै होइन : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशालामात्रै बन्न नदिनुपर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विद्यार्थीहरूलाई दीक्षित गर्दै विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नभई जीवन उपयोगी पाठशाला बनाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थीहरूलाई प्रमाणपत्र लिएरमात्रै नबस्न प्रधानमन्त्रीको आग्रह थियो। विश्वविद्यालयका कुलपतिसेत रहेका ओलीले विद्यार्थीहरूलाई उक्त आग्रह गर्नुभउको हो । उहाँले आगामी शैक्षिक सत्रमा स्कुल जाने कोही पनि बालबालिका विद्यालय बाहिर नरहने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले शिक्षा जीवन उपयोगी बन्नुपर्ने धारणा राख्नुभएको थियो । आफूले प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न सम्पूर्ण दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको सुझाव थियो। उहाँले विद्यार्थीहरूलाई प्रमाणपत्र लिएर मात्रै नबस्न आग्रह पनि गर्नुभएको छ ।

आफूले पाएको शिक्षालाई वास्तविक जीवनमा उतार्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले शिक्षाले जीवनलाई सहज र सरल बनाउँदै मान्छेलाई गुणशील बनाउन आग्रह गर्नुभयो । जीवनउपयोगी शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो। सरकारले यसै वर्षमा सबै बालबालिकालाई विद्यालय र्पुयाउने प्रयास गरेको भए पनि केही बालबालिका अझै पनि विद्यालय बाहिरै रहेकाले आगामी वर्ष त्यो लक्ष्य पूरा हुने दाबी गर्नुभयो ।

ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको खेलकूद मैदानमा आयोजित दीक्षान्त समारोहमा ९ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

समारोहलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेल, जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।

समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू