बाल्यकालको सुरुकै अवस्थातिरका कुरा त कसैलाई पनि थाहा हुँदैन । त्यस बेलाका कतिपय कुरा झझल्कोको रूपमा सम्झना हुन्छ भने कतिपय कुरा आंशिक रूपमा सम्झना हुन्छ । त्यसमा पनि सामान्यभन्दा सामान्य कुरा सम्झेर साध्य हुदैन । यो सबैमा लागु हुने कुरा भएकाले यसबाट म अछुतो हुने कुरै भएन । हाम्रो परिवार सम्पन्न परिवारमै पर्ने हुँदा मैले बाल्यकालमा खासै दुख बेहोरेको सम्झना छैन ।
मैले बुबाबाट घरमै नेपाली, अङ्ग्रेजी अक्षर र अङ्क राम्ररी चिनिसकेपछि मलाई एकै पटक तीन कक्षामा भर्ना गरियो । मेरो औपचारिक अध्ययनको थालनी मेरै हजुरबा गौरीशङ्करको नामबाट स्थापित विद्यालय गौरी शङ्कर प्रा.वि. बाट २०२६ सालमा भएको हो । त्यतिखेर पढाउने सरहरू पनि उति धेरै नपढेका भएको कुरा पछि मात्र थाहा भयो ।
एउटै कक्षामा पढ्दा पनि अरू साथीहरूको पाठ निकै पछि हुन्थ्यो भने मेरो पाठ निकै अगि बढिसकेको हुन्थ्यो । सधैँ पाठ बुझाउने हुदा मैले सरहरूबाट कहिल्यै कुटाइ खाइन । कक्षामा सरहरूले पाठ पढाउन मलाई नै लगाउनुहुन्थ्यो । कहिलेकाहीँ त दिनभर पढाउने जिम्मा मलाई नै लगाएर सरहरू रोपाइँ गर्न जानुहुन्थ्यो । म पनि फुरुक्क परेर चिच्याइचिच्याइ साथीहरूलाई पडाउँथेँ । मैले पढाउँदा सहपाठीहरू पनि खुसी हुन्थे । त्यतिखेर धुलौटेमा लेख्ने चलन थियो तर मेलैचाहिँ घरमै अङ्क, अक्षर र सामान्य हिसाबसमेत जानिसकेको अर्थात् नेपाली, अङ्ग्रेजी, गणितको प्रारम्भिक ज्ञान हासिल गरिसकेको हुनाले स्कुलमा धुलौटेमा लेख्ने काम गर्नु परेन ।
त्यतिखेर स्कुल जादा युनिफर्मको त के कुरा सामान्य जुत्ता चप्पल पनि हुदैनथ्यो । मलाई चाहिँ त्यही गाउँकै सार्कीले सिएका जुत्ता ल्याइदिएका थिए र म त्यही जुत्ता लगाएर स्कुल जान्थेँ । त्यसले खुट्टामा घाउ बनाएर खपिन सक्नु हुन्थ्यो । म स्कुल पुग्ने बित्तिकै जुत्ता फुकालेर कुनातिर राख्थेँ । आफूभन्दा माथिल्लो कक्षाका साथीहरू मुसो भन्दै ती जुत्तालाई साना साना ढुङ्गाले हिर्काउथे । म सरलाई पोल लगाइदिन्थेँ अनि हेड सर आएर तिनीहरूलाई सिर्कनाले मजैसँग कुट्नु हुन्थ्यो । बेलुका घर फर्किदा अलि छिटो हिड्नु पर्यो भने जुत्ता हातमा बोकेर हिँडिन्थ्यो ।
स्कुल त घरबाट सारै टाढा थिएन तैपनि साथीहरूसँग खेल्दै आऊदा आधा घण्टा जति लाग्थ्यो । अलि बढी समय लागे गाली खानु पथ्र्यो । घरमा आएर खाजा खाने बित्तिकै पढ्न सुरु गरिहाल्नु पथ्र्यो । त्यसो नगरे कुटाइ खाने पक्का थियो । त्यतिखेर खेल्ने चलन उति नभएकाले त्यति धेरै खेलिँदैनथ्यो ।
म फुर्सदका समयमा घरको काम पनि गर्थे तर घरमा काम गर्ने मान्छे भएकाले घरको काम त्यति धेरै गर्नु पर्दैनथ्यो । स्कुल छुट्टी भएका बेला कहिलेकाहीँ अरूका साथ लागेर गाईबस्तु चराउन र पिङुवा खोलामा माछा मारेको हेर्न जान्थे । कहिलेकाहीँ पिगुवा खोलामा पौडी पनि खेलिन्थ्यो । यसबाहेक मेरो बाल्यकालको धेरै समय अध्ययनमै बित्यो । कुनै व्यक्ति लड्दा अरू हासेको मलाई पटक्कै मन पर्दैनथ्यो र ती हाँस्ने व्यक्तिसँग सारै रिस उठ्थ्यो, अहिले पनि मन पर्दैन ।
हाम्रो घर निकै ठुलो थियो । घर मात्र होइन पाली, खोल्मा, कटेरा पनि ठुलै थिए । गाईभैसी गोठ नै थियो । गुज्राती भैँसी थिए । घरमा ठुला कुकुर पालेका थिए । मन्तरे पण्डित वा ठूलाघरे पण्डितको घर भनेपछि सबैलाई थाहा हुन्थ्यो । जिल्लाका ठूलाबडा आउँदा हाम्रैमा बस्थे ।
हाम्रा घरदेखि केही तल तिम्सिनाको घर थियो । उनकी छोरीलाई सबैले गोरी भन्थे । उनी मसगै पढ्थिन् । उनी घरको कौसीमा बसेर गावैँ थर्काउने गरी चिच्याएर पढ्थिन् । म कहिल्यै चिच्याएर पढ्दैनथेँ । एकदुईपटक पढेपछि प्रायः पाठ कण्ठै हुन्थ्यो तैपनि गोरीका जस्तै गरी पढ्नुपर्छ भनेर मलाई घरमा गाली गरिन्थ्यो ।
रिजल्ट हुने दिन म बिरामी भएर स्कुल गएको थिइन । मलाई हेड सरले लिन पठाउनु भयो र म मुस्किलले स्कुल पुगेँ । म स्कुल पुग्ने बित्तिकै रिजल्टको घोषणा गर्न सुरु गरियो । म स्कुल फस्ट भएछु । गोरी फेल भइछन् । मलाई सरहरू र सञ्चालक समितिको अध्यक्षसमेतले अबिर दलेर राताम्मे बनाइदिए । मलाई पुरस्कार स्वरूप कापी, कलम, पेन्सिल दिइयो । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा मलाई सञ्चालक समितिका अध्यक्षले नाके बोलीमा ‘स्याबास पुत्नेनाति सधैँ स्कुल फस्ट हुनु’ भन्दै गोजीबाट झिकेर एक रुपियाँ पुरस्कार दिएर धाप मारे । त्यो क्षण मलाई अहिले पनि झल्झली सम्झना छ । कक्षा तीनमा स्कुलमा सर्वप्रथम भई सबैले अबिर लगाइदि“दा र एक रुपियाँ पुरस्कार पाउ“दा मेरो खुसीको सीमा नै रहेन । त्यस बेलाको एक रुपियाँ“को मूल्य यस बेलाकालाई के थाहा ।
घरबाट पनि स्याबासी पाइयो । त्यसपछि गोरीका जस्तै गरी पढ्नुपर्छ भनेर मलाई घरमा गाली गर्न छोडियो । कक्षा तीनमा स्कुल फस्ट भएपछि मलाई डबल प्रमोसन दिएर कक्षा पाँचमा भर्ना गरियो । कक्षा पाचका किताब पुरस्कार स्वरूप स्कुलले नै दियो । म कक्षा पाँचमा पनि स्कुल फस्ट नै भए । त्यो स्कुलमा पा“च कक्षासम्म मात्र भएकाले त्यसपछि मैले पढ्नालाई अन्यत्रै जानुपर्ने भयो ।
मलाई जनता मा.वि. इटहरीमा ल्याएर कक्षा छमा भर्ना गरियो । त्यो स्कुल निकै ठुलो थियो र विद्यार्थीहरू पनि थुप्रै थिए । कक्षा छको अर्ध वार्षिक परीक्षामा म त्यहाँ पनि स्कुल फस्ट नै भए । यो २०२८ सालको कुरा हो । त्यति बेला त्यहाँ घोप्टो खालको कोसी बस चल्थ्यो । कहिलेकाहीँ म त्यही घोप्टे बसमा चढेर विराटनगर पुग्थे । सानो मान्छे देखेर होला कन्डक्टरले पैसा पनि माग्दैनथे । त्यसै बेला म फुपाजुसँग रेल चढेर कटिहार पनि गए । उहाँ रेलमा काम गर्ने ठुलै मान्छे भएकाले रेलमा पनि मलाई भाडा लिँदैनथे ।
त्यति बेला स्कुलबाट आएर खाजाका रूपमा घिउका डल्ला र चिनी मुक्याइन्थ्यो । इटहरी चोकको पश्चिमपट्टि रिजाल क्यानिङ कम्पनी थियो । त्यहाँ मेवा, आँपलगायत प्रशस्तै फलफुल हुन्थे । म केही साथी लिएर त्यहाँ पुग्थे । त्यहाँ काम गर्ने मान्छेले प्रेमपूर्वक हामीलाई फलफुल टिपेर दिन्थे । धेरै पटक त्यहाँ गएर फलफुल खाइएको छ । कहिलेकाहीँ“ त घरमा ल्याउन पनि दिन्थे ।
एकदिनको कुरा हो केही फलफुल बोकेर म घरतिर आउदैथिए । केही पुलिस हस्याङफस्याङ गर्दै दौडिन थाले भने केही बाटाका छेउमा बसेर कपाल काट्न थाले । बजारका पसलहरू पनि धमाधम बन्द गर्न थाले । एक छिन त म पनि छक्क परेर हेरिरहे । मैले एक जना पुलिसलाई के भएको भनेर सोधे । उनले मलाई हाम्रा राजा मरे छिटो छिटो घर जा भने । मैले को राजा भनेर सोध्दा तिनी रिसाए । म पनि हाम्रा राजा मरे रे भन्दै घरतिर दौडिए । त्यो दिन २०२८ साल माघ १७ गते राजा महेन्द्रको निधन भएको दिन थियो ।
म कक्षा छको अर्ध वार्षिक परीक्षामा स्कुल फस्ट नै भए तर गर्मीका कारण मैले त्यहाँ“ बसेर पढ्न सकिन र म तेर्हथुमको आफ्नै गाउँमा फर्किए । घरबाट तीन घण्टा जति उकालो हिँडेपछि चौक ढुङ्गा भन्ने ठाउँमा रत्न मिडिल स्कुल थियो । मलाई त्यही लगेर कक्षा छमा नै भर्ना गरियो । त्यतिखेर अर्ध वार्षिक परीक्षा सुरु हुन लागेको रहेछ । म त्यसैमा सामेल भए । अर्ध वार्षिक परीक्षाको रिजल्टमा पनि म स्कुल फस्ट नै भए र रिजल्ट गरेकै दिन मलाई सात कक्षामा उकालियो । सात कक्षामा पनि म स्कुल फस्ट नै भए । मैले त्यहाँ घरबाटै धाएर पढे ।
त्यसभन्दा माथि पढ्न घरनजिकै हाई स्कुल नभएकाले मलाई घरबाट छ–सात घण्टा टाढा पर्ने नवीन शिक्षा सदन मावि फाक्चामारामा लगेर कक्षा ८ मा भर्ना गरियो । मेरा घरबाट म्याङ्लुङ बजार नजिक पर्ने भए पनि फाक्चामाराका निरौला परिवारसँग हाम्रा परिवारको राम्रो सम्बन्ध भएकाले मलाई पढाउन फाक्चामारा लगिएको हो । घरबाट त्यति टाढा झोलामा चामल बोकेर जानुपथ्र्यो । लम्बुखोला तर्नुपथ्र्यो, त्यो त्यति सहज थिएन । आफैँ तर्न सकिँदैनथ्यो । प्रायः घोर्साने साइँलाले तारिदिन्थे । भेल आएको बेलामा पनि एउटा हातले उचालेर तार्ने गर्थे । अरू बेला हामी खोलो जहाँ साँघुरो हुन्थ्यो त्यही“बाट फड्किन्थ्यौँ। एक दिन खोलो सङ्लो भएको बेला एक्लै तर्न खोज्दा खोलाले बगायो र केही तल पुर्याएर पानीले हुत्त्याइ किनारातिर निकालिदियो ।
सुरुमा मलाई त्यहाँ बस्दा शुक्रवार कहिले आउला र घर जानुजस्तो लाग्थ्यो भने पछि क्रमशः बानी पर्दै गइयो । कहिलेकाहीँ हामी स्कुल नजिकैको अँधेरी खोलामा पौडी खेल्न जान्थ्यौँ र नाङ्गै पौडी खेल्थ्यौ“ । एक दिन शुक्रवार घर फर्किदा अँधेरी खोलाका दहमा साथीहरूसँग पौडी खेल्न पस्दा डुबेको थिएँ तर साथीले निकाले ।
फाक्चामारा पढ्न गएपछि सुरुमा सोलमाकै एउटा साथीसँग बस्थेँ । केही समयपछि उनी आफन्तको घरमा गएकाले त्यसपछि म एक्लै बस्न थालेँ । केही पछिदेखि म चक्र जङ निरौलाकहाँ बस्न थाले । त्यति बेला म आफैँ खाना बनाएर खान्थेँ । अल्छी लाग्दा दाल, भात, तरकारी एकै ठाउँ“मा पकाउँथेँ । घरबेटी हजुरआमाले प्रायः तरकारी, दूध, दही, मही ल्याइदिनुहुन्थ्यो । खाना आफैँ बनाएर खाए पनि सुत्न चाहि“ त्यही स्कुलका नेपाली शिक्षक हरिकृष्ण निरौला र म एउटै कोठामा सुत्थ्यौ ।
चक्र जङ निरौलाको छोरो नारायण जङ पनि मसँगै पढ्थे । त्यस बेला कपी बालेर पढ्नुपथ्र्योे । म पढ्न थालेपछि उनले कपी छेलेर पढ्न बाधा पु¥याउथे तर उनकी हजुरआमाले अर्को कपी बालेर ल्याइदिनुहुन्थ्यो । कहिलेकाहीँ हाम्रो झगडा पर्दा हजुरआमाले मेरो पक्ष लिएर नातिलाई नै गाली गर्नुहुन्थ्यो । ती हजुरआमाले आफ्नो नातिलाई भन्दा बढी मलाई माया गर्नुहुन्थ्यो । यो सुखद क्षण मेरो मस्तिष्कमा अझै ताजै छ । मैले त्यहाँ कक्षा नौमा पढ्दा मलाई घरबाट खर्च गर्न दिएको एक दुई पैसा जोगाएर दस रुपैयाँ जम्मा गरेको थिएँ । जुद्धबहादुर लिम्बू नाम गरेको एक जना साथीले तिहारमा तिर्छु भनेर मागेकाले उनलाई दिएको थिएँ । त्यो पैसा आजसम्म तिरेका छैनन् । मलाई त्यो पैसा जिन्दगीको सबैभन्दा धेरै कमाइ गुमेजस्तो लाग्छ ।
म विद्यालयद्वारा आयोजित वक्तृत्वकला, वादविवाद, चेस, हाजिरी जवाफ आदि प्रायः सबै अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ र सधैँ प्रथम हुन्थेँ । भलिबल, फुटबल पनि खेल्थेँ। जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा पनि पुरस्कृत भएको थिएँ । अलिअलि कविता पनि लेख्थे । आफ्नै निर्देशनमा नाटक पनि देखाएको थिएँ । सधैँ सर्वप्रथम भई छात्रवृत्ति पाउँथे । मलाई बाल्यकालमा सबैले निकै माया गर्थे ।
म विद्यालय तहमा पढ्दा प्रत्येक कक्षाको जाँच सकिनुभन्दा अगि नै मैले पढेका किताब माग्नेको ताती नै लाग्थ्यो । म कहिल्यै पनि किताबमा केर मेट र फोहोर गर्दैनथे त्यसैले मेरा किताब सधैँभरि नयाँ जस्ता देखिन्थे । म सदैव सर्वप्रथम विद्यार्थी भएकाले मेरा किताब पढेमा आफ्नो बच्चालाई पनि राम्रो पढ्न आउने विश्वासले सबैले मेरा किताब माग्थे र गाउँका थुप्रैले मेरै किताब पढेर उत्तीर्ण गरेका थिए ।
मैले २०३३ सालमा एस.एल.सी. दिए । म त्यस विद्यालयबाट एस.एल.सी. दिने नयाँशिक्षाको तेह्रथुम जिल्लाकै पहिलो ब्याचका विद्यार्थी थिए । त्यसभन्दा अगि लगातार दुई पटक स्कुलको एस.एल.सी. रिजल्ट निल गएको थियो । त्यस वर्ष पनि स्कुल निल गएमा स्कुल काटिन्थ्यो । एस.एल.सी. को परीक्षाफल प्रकाशित हुँदा सुरुमा त्यो वर्ष पनि निल गयो भन्ने समाचार आयो । त्यस समाचारले म एकदमै दुखी भएको थिएँ भने शिक्षक र अभिभावक पनि सारै दुखी भएका थिए । त्यस बेला थप सोधपुछका लागि कुनै सञ्चार साधन थिएन । यो मेरो जीवनको सबैभन्दा दुखद क्षण बनेको थियो । म त्यस रातभर निदाइन ।
भोलिपल्ट त्यो ब्याचमा म मात्र उत्तीर्ण भएको र स्कुल काटिनबाट जोगिएको समाचार आयो । त्यस बेला मेरो मात्र होइन शिक्षक र अभिभावक सबैको खुसीको सीमा नै थिएन । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण बनेको थियो । म त्यस रात पनि रातभर निदाइन ।
दुई वर्ष एस.एल.सी.मा निल गएको त्यस विद्यालयमा मेरो ब्याचमा पनि एस.एल.सी. पास गर्ने म मात्र थिएँ र स्कुल फस्ट नै भए । त्यस ब्याचमा मैले मात्र एस.एल.सी. पास गरेर स्कुल काटिनबाट जोगाइदिएको भन्दै सम्पूर्ण शिक्षक र अभिभावकले सारै खुसी भई मलाई स्याबासी दिँदै पुरस्कृत गरे । सबको वाह वाह, ताली, प्रशंसा पाउँदा म फुरुङ्ग भए । त्यस बेला चक्र जङ निरौलाले खगेन्द्र लुइटेल पास हुनमा शिक्षकको केही हात नभएको र विद्यार्थी आफ्नै कारणले पास भएको भन्दै शिक्षकहरूलाई गाली गरे र मलाई पुरस्कार दिए ।
फाक्चामाराबाट एक जना मात्र एस.एल.सी. पास गर्ने मान्छे कस्तो होला भन्ने कुरा अनेकका मुखबाट आफ्नै अगि सुन्दा म मक्ख पर्थे तर त्यो व्यक्ति म नै हु भनेर कसैलाई भन्दैनथे । म बाल्यकालमा होचो तर निकै मोटो थिए । अझ भनौ भने त्यतिखेर म झट्ट हेर्दा कसैले नपत्याउने पुन्टुप्रसाद नै थिए ।
एस.एल.सी. पास गर्दा म सानो भए पनि क्याम्पस पढ्ने भैसकेको थिए । म घरबाट नजिक पर्ने धनकुटा बहुमुखी क्याम्पसमा आई.ए. मा भर्ना हुन गए । धनकुटा घरबाट एक दिनको बाटो टाढा थियो । त्यतिखेर एस.एल.सी. उत्तीर्ण गरेपछि आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र अनिवार्य रहेछ, त्यो मसँग थिएन । म धनकुटाबाट तुरुन्त घर फर्केर नागरिकता बनाउन भनी सदरमुकाम म्याङलुङ बजार पुगे ।
नागरिकताका लागि फर्म भरेर बुझाइयो तर मलाई त्यहाँका कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन, ठुलो भएपछि आउनू’ भनी हप्काए र नागरिकता दिन मानेनन् । मैले आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र चाहिएको कुरा बताउँदा पनि कर्मचारीले सुन्नै चाहेनन् ।
त्यतिखेर सिडिओलाई भेट्न ठुलै मान्छेलाई त कठिन थियो भने मजस्ता फुच्चालाई सजिलो हुने कुरै भएन । म ढोकामा बसेका पुलिसको आँखा छलेर सुत्त सिडिओको कोठाभित्र पसे र ‘मलाई कर्मचारीले नागरिकताको प्रमाणपत्र दिन मानेनन्, मलाई नागरिकता चाहियो’ भने । मैले यसो भन्दा सिडिओ र त्यहाँ बसेका अरू तीन चार जना मान्छे गलल्ल हाँसे । सायद ती जिल्लाका ठुटे नेता थिए होलान् ।
सानो फुच्चेले नडराई बोलेको सुनेर हो कि किन हो सिडिओले हाँस्दै भने— ‘तिमीलाई किन चाहियो बाबु नागरिकता ? यति सानो बच्चालाई नागरिकता दिन त मिल्दैन नि ।’
मैले ‘क्याम्पस पढ्न नागरिकता चाहिएको’ बताएपछि त्यही बसेका अरू पनि फेरि हाँसे । मैले जिद्दी गरिसकेपछि ‘केटाकेटीलाई नागरिकता दिन मिल्दैन’ भनी सिडिओले मलाई गाली गरे । मैले उही कुरो दाहोर्याए । त्यसपछि सिडिओले मलाई सम्झाउँदै भने— ‘एस.एल.सी. पास नगरी आई.ए. पढ्न पाइँदैन । क्याम्पस पढ्न त एस.एल.सी.पास गर्नुपर्छ नि, एस.एल.सी. पास गरेपछि मात्र नागरिकता लिन आउनू अहिले घर जाऊ।
मैले नडराईकन तत्कालै भने— ‘त्यो कुरो मलाई पनि थाहा छ, एस.एल.सी.पास गरेरै त आई.ए.पढ्न जान म नागरिकता बनाउन आएको नि, मलाई आई.ए. पढ्न नागरिकता चाहिएको हो ।’ मैले यसो भन्दा त्यहाँ बसेका सब हाँस्न थाले, मलाई भने रिस रिस उठिरहेको थियो ।
सिडिओले मलाई जिस्क्याउदै सोधे— ‘एस.एल.सी. कहिले, कहाँबाट पास गरेको बाबु ?’
मैले ‘यसैपालि’ भन्ने बित्तिकै उनले सोधे ‘कहाँबाट ?’ मैले पनि कड्केरै भनिदिए“— ‘नवीन शिक्षा सदन मावि फाक्चामाराबाट ।’
सिडिओले भने— ‘त्यहाँबाट खगेन्द्रप्रसाद लुइटेल नाम गरेको एकजनाले मात्र पास गरेको होइन र ?’ सिडिओलाई पास गर्नेको नामसमेत थाहा भएको तर पास गर्ने मान्छे चाहि थाहा नभएको कुरा मैले बुझे ।
मैले पनि हाँस्दै तत्कालै भनिदिए— ‘यहाँ नागरिकता बनाउन दुई जना आएका छन् र ? त्यो एक जना मान्छे मै हु ।’ त्यति बेला सब जना ट्वाल्ल परेर मतिर हेरिरहेका थिए र चुपचाप मेरा कुरा सुनिरहेका थिए ।
त्यत्तिकैमा त्यहाँ बसेका एकजनाले ‘तिमी कसको छोरा हौ बाबु’ भनेर सोधे । मैले इन्द्रप्रसाद लुइटेलको भने । त्यहाँ बसेका अर्कोजनाले ‘ए तिमी मन्तरे पण्डितको नाति इन्द्रप्रसादको छोरा हौ’ भने । मैले हो भने । तिनी जिल्ला सभापति रहेछन् । ती सबैले मेरो बुबालाई मात्र होइन हजुरबालाई पनि राम्ररी चिन्दा रहेछन् ।
त्यसै बिचमा सिडिओले सोधे— ‘तिम्रो रोल नम्बर कति हो बाबु ?’ मैले पनि फट्ट भनिदिए“— ‘३३८८५ जी ।’ उनले टेबुलमै राखेको एउटा पत्रिका पल्टाएर नम्बर खोजे । सिडिओले मेरो सिम्बोल नम्बर पत्रिकामा छापिएको फेला पार्ने बित्तिकै कुर्सीबाट जुरुक्क उठेर मसँग हात मिलाएर धाप मार्दै ‘बधाई छ बाबु बस्नुहोस्’ भने । सिडिओसग हात मिलाउँदा म त फुरुङ्ग । त्यहाँ बसेका अरूले पनि हात मिलाएर मलाई बधाई दिए ।
मैले त्यतिखेरसम्म मेरो नम्बर छापिएको पत्रिका देखेकै थिइन । पत्रिकामा छापिएको नम्बर देख्ने बित्तिकै म ‘तिमी’ बाट ‘तपाईँ’ मा प्रमोसन भए । म पनि छेउको सोफामा बसे । सिडिओले चिया मगाएर खुवाए । त्यो मेरो जीवनमा ठुला मान्छेका अगि सोफामा बसेर चिया खाएको पहिलो पटक थियो । त्यति बेला म कति खुसी भए“ त्यसको बयान गरी साध्य छैन ।
सिडिओले घण्टी बजाएर फाँटवालालाई बोलाई ‘उहाँको नागरिकता तुरुन्त बनाइदिनू’ भन्ने आदेश दिए र मलाई तिनै कर्मचारीसँग जानू भने । म तिनै फाँटवाला महिलाको कोठामा गए ।
अब मेरो नागरिकता बन्ने भो, मैले क्याम्पस पढ्न पाउने भए भन्ने कुरामा म ढुक्क भए । उता कोठामा पुगेपछि ती फाँटवालीले आलटाल गर्न थालिन् र मतिर हेर्दै नहेरी ‘तीन दिनपछि आउनू अहिले जाऊ’ भनिन् । तिनका बडाहाकिमले तपाईँ भन्न थालेका बेला तिनले तिमी भन्दा रिस त उठ्यो तर मैले नरम स्वरमा भने— ‘मेरो क्याम्पस एड्मिसनको अन्तिम मिति भोलि छ आज नागरिकता नबने मेरो एड्मिसन नै हुँदैन त्यसैले आजै बनाइदिनुहोस् न ।’ तिनले मलाई हप्काउदै भनिन्— ‘आज बन्दैन, आजै चाहिने भए दूध खुवाउनुपर्छ ।’
मैले कुरा बुझिन र सोधे— ‘कस्तो दूध ? मसँग त दूध छैन ।’ छेउमा बसेको अर्को कर्मचारीले खुसुक्क केही पैसा दिनुपर्ने सङ्केत गर्दै दूधको अर्थ बताए । त्यो त तिनीहरूको कोड ल्याङ्ग्वेज पो रहेछ, मसँग पैसा पो मागेका रहेछन् । म दौडेर फेरि सिडिओका कोठामा पसे र सब कुरा बताए । सिडिओले जङ्गिएर घण्टी बजाउँदै तिनलाई बोलाएर मेरै अगाडि तिनको घण्टी बजाइदिए । सिडिओले तिनलाई यति हकारे कि त्यसको कुनै हिसाबै छैन । ‘तुरुन्त उहाँको नागरिकता बनाएर यही ल्याउनू’ भनी आदेश दिए र मलाई त्यही सोफामा बस्न भने । म त्यही बसिराखे ।
तत्काल आदेशको पालना भयो । एकै छिनमा फाँटवाली पहाडे कागज टाँसेको रातो बुक लिएर आइन् । सिडिओले हस्ताक्षर गरी मलाई नागरिकताको प्रमाणपत्र दिँदै हात मिलाए र ‘राम्रो पढ्नू है बाबु’ भन्दै मलाई बिदा गरे । सिडिओसग उही दिन दोस्रो पटक हात मिलाउँदा म त फुरुङ्ग, खुट्टै भुइमा रहेनन् । मेरो नागरिकता फर्ममा सिफारिस गर्ने मालपोत अधिकृत परशुराम राई पछि कता गए थाहा भएन, सिडिओ सुशील कान्त झा चाहि सचिवबाट सेवा निवृत्त भए ।
मलाई उता फाँटमा बोलाइयो र एउटा खातामा सही गर्न लगाइयो । मैले सही गरेपछि यस्तो कुरा सिडिओलाई किन भनेको भनेर ती महिला मलाई हप्काउन थालिन् । मैले ‘मसँग किन दूध मागेको त ? म फेरि सिडिओ साबलाई भनिदिऊँ’ भनेपछि तिनले मसँग माफी मागिन् । मेरो नागरिकताको पुछारमा तिनको पनि सही छ । तिनको नाम द्रौपदी प्रधानाङ्ग हो । तिनलाई द्वापरयुगमा पाचजनाकी साझा भए पनि कलियुगमा एककी पनि हुन नसकेकी भन्दा रहेछन् । त्यस कुरासँग मेरो कुनै सरोकार थिएन । मेरो सरोकार नागरिकताको प्रमाणपत्रसँग मात्र थियो । सानो भएका कारण नागरिकता लिने बेलामा उत्पन्न झमेला पनि मेरो एउटा स्मरणीय क्षण हो ।
म नागरिकता बोकेर त्यहाँबाट निस्किए र घरतिर दौडिए । बेलाबेला गोजीमा नागरिकता छाम्दै दौडिँदै तीन घण्टाजतिको बाटो पत्तै नपाई म घर पुगे र खाना खाएर सुते । भोलिपल्ट बिहानै उठेर आई.ए.मा भर्ना गर्न धनकुटा बहुमुखी क्याम्पसतिर हानिए ।…
क्रमशः…